Logo

अटोमोबाइल उद्योगहरुको उदय हुने नाडाको दावी


देशको वर्तमान जटिल अवस्थामा पनि २०७८/०७९ को प्रतिस्थापन बजेट आउँदा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले स्वागत गरेको छ ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार नाडाले झण्डै एक दशक अघि देखिनै आफ्ना बजेट सम्बन्धी सुझावमार्फत निरन्तर रुपमा सरकारलाई नेपालमा सवारी साधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन अनुरोध गर्दै आएको जनाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेटमार्फत एसेम्बलगरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२ ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरेकोमा नाडाले त्यसको स्वागत गरेका छ ।
उक्त निर्णयले नेपालमा सवारी साधन एसेम्बलिङ उद्योग स्थापनाका लागि कोशेढुङ्गा सावित हुने अपेक्षा समेत राखेको भन्दै नाडाले त्यस्ता सवारी साधन उत्पादन गर्ने एसेम्बलिङ उद्योग सञ्चालन गर्नका लागि त्यससंग सम्बन्धित ऐन र नीति नियमहरुको स्थिरता पनि त्यतिकै महत्वपूर्ण हुने जनाएको छ ।
यसै सन्दर्भमा सरकार परिवर्तन हुँदैमा त्यस्ता उद्यागहरुलाई कुनै असर पर्न नहुने पनि पनि नाडाले स्मरण गराएको छ ।
कोरोना महामारीको समयमा सार्वजनिक प्रयोजनका सवारी साधनहरु प्राय प्रयोग नहुने सन्दर्भमा मोटरसाइकल जस्ता निजी सवारी साधनहरुले बिरामीलगायत आवश्यक उपभोग्य वस्तुहरु समेतको ओसार पसार गर्नुपर्ने अवस्था रहेका भन्दै नाडाले मोटरसाइकलको प्रयोगमा अत्यधिक वृद्धि भएको पनि जनाएको छ ।
सरकारले यसलाई अझै थप प्रोत्साहन गर्नु पर्ने भन्दै वर्तमान संशोधित बजेटले मोटरसाइकलको सेगमेण्टमा परिवर्तन गर्दै सडक निर्माण दस्तुर र अन्तःशुल्क महशुल दुवैमा वृद्धिसमेत गरेकोमा यसले मोटरसाइकल प्रयोगकर्तालाई थप आर्थिक भार मात्र पर्ने नभई अलमलमा समेत पर्ने देखिएको नाडाको भनाइ छ । सरकारले गत वर्ष कायम गरेको सेगमेण्टलाई नै निरन्तरता दिने व्यवस्थाका लागि नाडाले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्