५० किमि ग्राभेल, तीन किमि पिच र ३५ किमि सडक चौडा
जुम्लामा सडक विकास

कोरोना कहरका बीच पनि गत आवमा सडक डिभिजन जुम्लाको भौतिक प्रगति ७० प्रतिशत भएको छ । गत आर्थिक वर्षमा सडक डिभिजन जुम्लाले मुगु, कालिकोट र जुम्लामा गरी ७० प्रतिशत भौतिक प्रगति गरेको हो । जसमा जुम्लामा मात्रै ३५ किलोमिटर सडक ग्राभेल गरिएको छ । नाग्म–गमगडी सडक विभिन्न खण्डमा ग्राभेल गरिएको हो ।
त्यस्तै १८ किलोमिटर कालोपत्रे गरिएको छ । १८ किमि कालोपत्रेमध्ये तीन किमि जुम्ला क्षेत्रमा बाँकी १५ किमि सडक कालोपत्रे कालिकोट जिल्लामा भएको सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए । उनका अनुसार गत आवमा करिब ३५ दशमलव २५ किमि सडक चौडा बनाइएको छ । सडक चौडाको काम जुम्लामा मात्रै भएको छ भने जुम्ला, कालिकोट र मुगुमा गत आवमा ३ किलोमिटर नयाँ सडकको ट्रयाक खोलिएको प्रमुख भण्डारीले जानकारी दिए ।
साथै २ दशमलव २ किमि सडक सर्फेस डे«सिङ गरिएको छ ।
गत आव २०७७÷०७८ मा सडक डिभिजन जुम्लामा थप बजेटसहित विनियोजित कुल एक अर्ब १९ करोडमध्ये कोरोना कहरका बीच ७७ करोड खर्च भएको छ । अर्थात् वित्तीय प्रगति ६४ दशमलव ८८ प्रतिशत भएको छ । त्यसका साथै घट्टेखोला पक्की पुल दैलेख र कर्णाली नदी लालु–खुलालु पक्की निर्माण सम्पन्न भएका छन् भने गत आवमा तिलानदी पुल रारालिही जुम्लाको ठेक्का आह्वान भएको र उक्त पुल निर्माणकार्य चालू आवमा सम्पन्न हुनेछ ।
सडक डिभिजन जुम्लाले गत आवमा गरेको पूर्वाधार विकासका काममध्ये अधिकांश काम जुम्लामा परेको छ । नाग्मगमडी सडक ग्राभेल, कर्णाली राजमार्ग जुम्ला खण्ड कालोपत्रे, नयाँ ट्रयाक खोल्नेलगायतका काम जुम्लामा भएका छन् ।
४२ करोड खर्च भएन
ग्त आव २०७७÷०७८ मा सडक डिभिजन जुम्लामा थप बजेटसहित कुल एक अर्ब १८ करोड विनियोजन भएकोमा ७७ करोडमात्रै खर्च भएको छ भने ४२ करोड बजेट खर्च हुन नसकेर फिर्ता भएको छ । गत आवमा सडक निर्माण, नयाँ सडक निर्माण, सडक स्तरवृद्धि, सडक कालोपत्रेलगायतका काम गरी भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६४ दशमलव ८८ प्रतिशत भएको सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए ।
जुम्लामा सडक पूर्वाधार विकासको बजेट खर्च हुन नसक्नुका मुख्य तीन कारण छन् । उनले भने, “बजेट खर्च नहुने पहिलो कारण कोभिड, दोस्रो निर्माण व्यवसायी कामप्रति जिम्मेवार नहुनु र बजेट निकासा वर्षको अन्त्यमा हुने यी तीन कारणले बजेट खर्च लक्ष्यअनुसार हुन सक्दैन ।”
जुम्लाका निर्माण व्यवसायीले समयमै काम सुरु नगर्ने, कामप्रति जिम्मेवार नहुने कारणले बजेट खर्च हरेक वर्ष न्यून छ । गत आवमा ठेक्का आह्वान ढिला, निर्माण व्यवसायीको ढिलासुस्ती र कोरोना कहरले लक्ष्यअनुसार बजेट खर्च तथा विकास निर्माण नभएकाले चालू आवमा भदौ मसान्तबाटै सबै काम सुरु हुने गरी अगाडि बढेको सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीको भनाइ छ ।