Logo

उद्योग परिसंघको ‘वुमन लिडरसिप फोरम’

नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा महिलाको भूमिका बढाउने उद्देश्यले ‘वुमन लिडरसिप फोरम’ गठन गरेको छ । परिसंघकी राष्ट्रिय परिषद सदस्य छाँया शर्माको संयोजकत्वमा फोरम गठन गरिएको हो । परिसंघका उपाध्यक्ष निर्वाण चौधरी कोअर्डिनेटिङ उपाध्यक्षको रूपमा रहेका छन् ।
मंगलबार फोरमको औपचारिक गठन गरिएको छ । परिसंघको कार्यालयमा भएको कायक्र्रममा उपाध्यक्ष चौधरीले अर्थतन्त्रको मूल प्रवाहमा महिलालाई ल्याउने उद्देश्यले यस फोरमको गठन गरिएको बताए । “आर्थिक र व्यावसायिक क्षेत्रको नेतृत्व गरिरहनु भएका महिला नेतृहरूको साझा मञ्च बनाउने हाम्रो उद्देश्य हो” उनले भने, “यो अभियान हामी प्रदेश तहमा विस्तार गर्नेछौं ।”
कार्यक्रममा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले साना व्यवसाय गर्ने महिलामा वित्तीय पहुँच समस्याका विषय रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्न फोरम सक्रिय हुनुपर्नेमा जोड दिए । ग्रामीण क्षेत्रमा व्यवसायमा जोडिन चाहने महिलालाई स्रोतको अभाव रहेको भन्दै उनले वित्तीय स्रोत प्राप्त गर्ने तरिका बारे शिक्षित गर्नुपर्ने बताए । “सीपमूलक तालिम लिएर पनि महिलाहरू उद्यममा जोडिन सक्नु भएको छैन” उनले भने, “त्यो अवस्था अन्त्य हुनुपर्छ ।”
यसैगरी फोरमकी संयोजक शर्माले महिलाहरूमा वित्तीय पहुँच अभिवृद्धिका लागि काम गर्ने उल्लेख गरिन् । उनले निजी क्षेत्रको प्रभावशाली छाता संगनठनको रूपमा परिसंघले महिला उद्यमीको क्षमता विकासमा परिसंघले काम गर्ने बताइन् ।
सरकारले महिला उद्यमीलाई दिएका सुविधाबारे लक्षित समूहलाई जानकारी गराउने र उनीहरूलाई साक्षर बनाइ लाभ प्राप्त गर्न सक्ने गरी क्षमता अभविृद्धि गर्ने उद्देश्य फोरमको छ । यसैगरी आर्थिक रूपमा महिला सशक्तिकरणका लागि सीप विकास, नीतिगत सहजीकरण एवं छलफल र उत्पादनको बजारीकरण गर्ने उद्देश्य पनि फोरमको छ ।

प्रतिक्रिया दिनुहोस्