Logo

महिला उद्यमीसँग चेम्बरको अन्तरक्रिया


कृषिमा लागेका महिला उद्यमीहरुको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल महिला चेम्बरले ‘सफलताको कथा तथा अन्तरक्रिया कार्यक्रम’ गरेको छ ।
भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा कृषि पेशामा लागेका महिला उद्यमीहरुले आफ्ना समस्या चेम्बर समक्ष राखेका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले उत्पादन वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउन उत्पादनशिल कृषि क्षेत्रमा लगानी बिस्तार गर्नुपर्ने बताए ।
अध्यक्ष मल्लले बिचौलियाका कारण उद्यमीलाई मूल्य र बजारीकरणमा समस्या हुँदै आएकाले सामुहिक रुपमा मिलेर खेती गर्दा बजारिकरण गर्न सहज हुने बताए ।
“सानो स्केलमा सहकारी मार्फत र केन्द्रीय स्तरमा कम्पनीमार्फत गर्न सकिन्छ” उनले भने । भन्सार छुटमा ढुवानीका साधनहरु खरिद गर्ने व्यवस्था सरकारले मिलाउनु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीलाई सहजीकरण गर्ने उद्देश्यका साथ नेपाल महिला चेम्बरले ब्राण्डिङ प्याकेजिङ, मार्केटिङ, वित्त व्यवस्थापन लगायतका प्रभावकारी कार्यक्रम गरिरहेको बताइन् ।
१० वर्षदेखि जडीबुटिको बिषयमा अध्ययन गर्दै आएका कृषि विज्ञ दिपक शर्माले स्वदेशमा खपत गर्ने मात्र नभई तेस्रो मुलुकमा समेत निर्यात गर्ने लक्ष्यका साथ गुणस्तरीय उत्पादन माथि केन्द्रित हुनुपर्ने बताए ।
कार्यक्रममा सफल चार महिला उद्यमीले आफ्नो सफलताको कथाबारे आफ्नो अनुभव राखेका थिए । सो अवसरमा अदुवा लगायतका कृषिजन्य उत्पादनको बजारीकरण गर्दै आएकी महिला उद्यमी सुलोचना श्रेष्ठले आफूले कर्णालीलगायतका देशका विभिन्न ग्रामीण भेगका कृषक वर्गबाट उत्पादित अर्गानिक उत्पादनको बजारिकरण गर्दै आएको जानकारी दिइन् ।
चिया उत्पादक महिला उद्यमी रुची शिवाकोटीले आफूहरुले उत्पादन गर्ने चियाको ३० प्रतिशत स्वदेशी बजार र ७० प्रतिशत भारतीय बजारमा खपत हुँदै आएको बताइन् ।
कार्यक्रममा विशेषगरी बेसार, मौरीपालन तथा मह उत्पादन, कफि र चियाको व्यावसायिक खेती गरेर नेपालको उत्पादनमुखी अर्थतन्त्रमा जोडिएका विभिन्न जिल्लाका सफल महिला उद्यमीहरु कार्यक्रममा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्