प्रसारणलाइन बन्यो तर सबस्टेसन नबन्दा विद्युत् खेर «

प्रसारणलाइन बन्यो तर सबस्टेसन नबन्दा विद्युत् खेर


दशक लामो प्रतीक्षापछि सिंगटी–लामोसाँघु १३२ केभी प्रसारणलाइन तयार भयो । सिंगटी सबस्टेसन बन्यो । तर पनि १० वर्ष अघिदेखि विद्युत् उत्पादन गरिरहेका जलविद्युत् आयोजनाले सबस्टेसनमा लाइन जोड्न नपाउँदा ती आयोजनाबाट उत्पादित विद्युत् अझै खेर गइरहेको छ ।
दुई वर्षमा तयार गर्ने गरी सुरु गरेको प्रसारणलाइन नौ वर्ष ढिला ११ वर्षमा चार्ज भएको छ । प्रसारणलाइन पूरा भएपछि सिंगटी खोला जलविद्युत्् आयोजनाले २५ मेगावाट विद्युत्् केन्द्रीय प्रसारण लाइनमा जोडेको छ ।
तर १० वर्ष अघिदेखि विद्युत् उत्पादन भए तापनि सिंगटी–लामोसाँघु प्रसारण लाइनकै पर्खाइमा रहेको सिनर्जी पावर कम्पनीले उत्पादन गरिरहेको सिप्रिङखोला जलविद्युत् आयोजनासहितको विद्युत् भने अझै खेर गइरहेको छ ।
विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार दुई वर्षभित्र प्रसारणलाइन र सिंगटीको सबस्टेसनसमेत निर्माण गर्ने रहेको थियो । निरन्तरको ताकेतापछि ढिलै भए तापनि प्रसारणलाइन र १३२ केभी सबस्टेसन तयार भयो । तर सिंगटीको सबस्टेसनमा ३३ केभी प्रसारण लाइनबाट ल्याएको विद्युत् जोड्नका लागि १३२÷३३ केभी सबस्टेसनको संरचना तयार भइनसकेको कारण प्रसारणलाइन नभएका कारण अहिले सिप्रिङ र घट्टे खोलाको विद्युत् खेर गएको हो ।
सिंगटी–लामोसाँघु प्रसारणलाइन आयोजना प्रमुख राजन ढुंगेलले १३२ केभी प्रसारणलाइन चार्ज भएर २५ मेगावाटको विद्युत् प्रसारण भए तापनि १३२।३३ केभी सबस्टेसनका लागि ट्रान्सफरमर ढुवानीमा ढिलाइ भएका कारण अरु विद्युत्गृहका विद्युत् जोड्न नसकेको बताए । ठेकेदारको ढिलाइका कारण सबस्टेसन निर्माणमा ढिलाइ भए तापनि चाँडै त्यो पूरा हुने बताए ।
१० वर्षसम्म त प्रसारण लाइनकै प्रतीक्षामा घाटामै भएपछि विद्युत्गृह चलाए तापनि प्रसारणलाइन बने तापनि सबस्टेसन नबन्दा यस वर्ष पनि एक तिहाइ बढी खेर फाल्नु परेको सिनर्जी पावर कम्पनीका लेखा प्रमुख सुजनचन्द्र पौडेलले जानकारी दिए ।
विद्युत्को उत्पादन बढी भए तापनि वितरण क्षमता कम हुँदा सिंगटीस्थित ३३/११ केभी वितरण सबस्टेसनले सीमित उत्पादनमा गर्न निर्देशन दिँंदा एकातिर विद्युत् प्लान्टले क्षमताअनुसार विद्युत् उत्पादन गर्न सकेको छैन भने अर्कोतिर ओभर लोड भएर स्थानीयस्तरमा पटक पटक विद्युत् जाने समस्या छ । सात मेगावाटको सुरी खोला जलविद्युत् आयोजनाको काम पनि पूरा भएको छ तर त्यही सबस्टेसनकै कारण उसले विद्युत् प्रसारण गर्न पाएको छैन ।
दोलखा जिल्लाभर ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६० मेगावाटको खिम्ती र २५ मेगावाटको सिंगटी आयोजनाबाहेक नै आठवटा जलविद्युत् आयोजनाबाट ३३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । सात मेगावाटको सुरी खोलाको भर्खरै सकिएको हुनाले प्रसारण लाइनमा नजोडिए तापनि २६ मेगावाट ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । ३३ केभी प्रसारण लाइनको क्षमता १५ मेगावाटसम्म छ । क्षमताभन्दा उत्पादन बढी भएकोले विद्युत्गृहलाई क्षमता घटाएर उत्पादन गर्न लगाइएको छ । ओभरलोड हुँदा स्थानीयस्तरमा पटक पटक विद्युत्का तार चुडिने समस्याले बत्तीको समस्या छ ।
प्रसारण लाइनको क्षमताभन्दा बढी उत्पादन भएकाले बेलाबेलामा विद्युत् जाने समस्या भएको नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रका इन्जिनियर राजेन्द्र चौधरीले बताए । सिंगटी सबस्टेसन बने लामोसाँघुदेखि दोलखामा लाइन ल्याउन नपर्ने र स्थानीयस्तरको ओभर लोडको समस्या समाधान हुने बताए ।
दोलखाको उत्तरी क्षेत्रका १० मेगावाटको सिप्रिङर पाँच मेगावाटको घट्टे खोलाको विद्युत् सिंगटीको ३३ केभी सबस्टेसनमा, २.८३ मेगावाटको चाके खोला, २.४ मेगावाटको जिरी सिक्री खोला र पाँच किलोवाटको जिरी खोलाबाट उत्पादित विद्युत् जिरी सबस्टेसनमा जोडिएको छ । त्यसैगरी ३.५२ मेगावाटको चर्नावती खोलाको विद्युत् र एक मेगावाटको कुथलबुखरीको विद्युत् मकैबारी सबस्टेसनमा जोडिएको छ । जिरी र सिंगटीको विद्युत् मकैबार सबस्टेसनबाट ३३ केभी विद्युत् लामोसाँघु प्रसारण लाइनमा पुग्छ । सिंगटी १३२ केभी सबस्टेसनमा ३३ केभी सबस्टेसन तयार भएपछि दोलखाको विद्युत्को समस्या पनि समाधान हुने र विद्युत्गृहले क्षमताअनुसारको विद्युत् उत्पादन गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्