चीनसँगको सीमा विवाद समाधान गर्न समिति गठन «

चीनसँगको सीमा विवाद समाधान गर्न समिति गठन

सरकारले चीनसँग सीमा जोडिएको हुम्ला जिल्लाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति बनाएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटामा बसेको मन्त्रीपरिषद्को बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो ।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समितिले सीमा र स्थानीयको समस्या बारे अध्ययन गरि प्रतिवेदन बुझाउने बैठक पछि कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा मोरङका डा. विक्रान्त ढकाललाई र युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा कास्कीका विश्वमोहन अधिकारीलाई नियुक्त गरेको छ ।
यस्तै निर्वाचन आयोगमा कार्यरत सहसचिव राजकुमार श्रेष्ठलाई सचिव पदमा बढुवा गरेको छ । सरकारले दिगो तथा सम्मानित रोजगारीको लागि संचालित सीप परियोजनाको लागि स्विस सरकारको अनुदान सहायता करिब १ अर्ब ९३ करोड रुपैया स्विकृत गर्ने निर्णय पनि गरेको छ ।
बैठकले माओबादी जनयुद्ध, २०६२-०६३ को आन्दोलन, मधेश आन्दोलनका घाइते अपांगको पुनस्र्थापना हेरचाह, सहायतासम्बन्धी निर्देशिकाको दोश्रो संसोधन २०७८ स्विकृत गर्ने निर्णय गरेको छ । यस्तै बैठकले पाकिस्तानको माउन्ट के२को सफल आरोहण गर्ने दावा तेन्जिङ शेर्पाको टोलीलाई प्रोत्साहन स्वरुप जनही १लाख नगद पुरस्कार दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्