निजी क्षेत्र ‘मानार्थ भन्सार अधिकृत’

अर्थ मन्त्रालयका राजस्वसचिव लालशंकर घिमिरेले निजी क्षेत्रलाई आफूहरूले ‘मानार्थ भन्सार अधिकृत’ बनाउन तयार रहेको भन्दै यसको प्रतिष्ठा जोगाउने दायित्वबोध गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तर्राष्ट्रिय भन्सार दिवस २०१९ को कार्यक्रममा सचिव घिमिरेले चेम्बरजस्ता व्यवसायीहरूको छाता संगठनलाई मानार्थ भन्सार अधिकृत बनाउन आफूहरू तयार रहेको र उक्त संस्थाहरूले त्यसको मर्यादा जोगाउन आफ्नो तर्फबाट पूरा शक्ति लगाउनुपर्नेमा जोड दिए ।
सचिव घिमिरेले आर्थिक गतिविधि अत्यधिक रूपमा बढ्नुपर्ने, व्यापारको सहजीकरण सहज ढंगले हुनुपर्ने तथा उपभोक्ताहरूको संरक्षण हुनुपर्ने धारणा राखे । यी तीन विषयको सुदृढीकरण हुनेबित्तिकै राजस्व संकलन स्वतः बढ्ने उनको भनाइ छ । नेपालको कुल गार्हस्थ्य उत्पादन ३४ खर्बनजिक रहेको तर २३ खर्बभन्दा बढीको उपभोग नेपालमा हुने भएकाले बचत न्यून हुने गरेको उनको भनाइ छ ।
कार्यक्रममा भन्सार बिभागका महानिर्देशक तोयम रायले अबको भन्सार ज्ञानमा आधारित, नवीनतम, प्रविधिमा आधारित र व्यवस्थित हुनुपर्ने कुरामा जोड दिए । सरकारी निकायबीच तथा सरकारी र निजी संस्थाबीचको समन्वयले मात्रै नेपालको भन्सारलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सकिनेमा जोड दिँदै उनले जति मूल्यमा र जुन ठाउँबाट सामान ल्याएको हो, त्यसलाई पुष्टि गर्ने दस्तावेजहरू भएमा कारोबार मूल्यले पनि सजिलै मान्यता पाउने बताए । कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारी तहमा हुने अन्तर निकायको समन्वयको अभावमा व्यवसायीहरूले दुःख पाएकोले यसतर्फ सरकारले ध्यान दिन आवश्यक रहेको बताए । आयात निर्यातको प्रभावकारिताको लागि कारोबार मूल्यलाई मान्यता दिनुपर्ने कुरामा जोड दिँदै उनले भन्सारमा जति सहज वातावरण हुन्छ, त्यति नै बढी देशको आर्थिक गतिविधि पनि सहज हुने भएकोले भन्सारलाई प्रविधियुक्त बनाउनुपर्ने जनाए ।