माथिल्लो मनाङका अधिकांश बस्ती खाली «

माथिल्लो मनाङका अधिकांश बस्ती खाली

लमजुङ/मनाङ-अत्यधिक चिसोका कारण अधिकांश बस्ती खाली भएको मनाङको सुरक्षा व्यवस्था कडा पारिएको छ । बस्ती खाली हुँदै गर्दा चोरी, शिकारजस्ता आपराधिक क्रियाकलाप हुनसक्ने भन्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो ।
मनाङका अधिकांश बस्ती यतिबेला खाली छन् । चिसो बढेपछि अधिकांश स्थानीय जिल्ला छोडेर अन्यत्र गएका हुन् । केही घरमा घर कुरुवा राखिएको छ भने केही घरमा ताल्चा नै लगाइएको छ । जिल्लाका अधिकांश बस्ती खाली हुँदै गर्दा चोरी शिकारीको जोखिम हुने गरेको नेस्याङ गाउँपालिका–१ का अध्यक्ष भुजुङ गुरुङले बताए ।
बस्ती खाली भएर जोखिम बढेपछि स्थानीय प्रशासनले जिल्लाको सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ । जिल्लाका जोखिम क्षेत्रमा केही समय अघिदेखि नै सचेतनासँगै विभिन्न गतिविधि सञ्चालन गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ सापकोटाले बताए । “जिल्लाको अवस्थालाई ध्यानमा राख्दै सुरक्षा समिति मनाङ थप सतर्क बनेको छ,” प्रजिअ सापकोटाले भने, “जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न सुरक्षा समितिको बैठक बसी विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छौँ ।”
अघिकांश घरमा कुरुवा राखेर कुनै वैकल्पिक व्यवस्थापन गरेर नै स्थानीय अन्यत्र जान आग्रहसमेत गरिएकोले गम्भीर खतरा नभएको मनाङ प्रशासनको दाबी छ । सोबाहेक प्रहरीको गस्ती तथा पेट्रोलिङलाई साविकको समयमा भन्दा बढी प्राथमिकता दिएको मनाङका प्रहरी प्रमुख प्रनाउ खड्काबहादुर केसीले बताए । “दिनरात सिफ्टमा प्रहरी गस्ती बढाएका छौँ,” प्रनाउ केसीले भने, “जोखिमयुक्त गाउँमा सादा पोशाकमा पनि प्रहरी परिचालन गरी निगरानी बढाएका छौं ।”
मनाङमा यतिबेला सामान्य चोरीबाहेक गम्भीर प्रकृतिका घटना भने भएका छैनन् । चिसोका कारण जिल्लामा यतिबेला विद्यालय पनि बन्द गरिएका छन् भने विकास निर्माणका काम पनि पूर्णरूपमा प्रभावित छन् । चिसोकै कारण स्थानीय अन्यत्र गएपछि सरकारी कार्यालयमा सेवाग्राही पनि कम भएका छन् ।

चिसोले मनाङको जनजीवन कष्टकर
चिसोका कारण हिमालपारिको जिल्ला मनाङको जनजीवन कष्टकर भएको छ । साविकका वर्षझैँ यसवर्ष हिमपात नभए पनि अत्यधिक चिसोका कारण जनजीवन कष्टकर भएको हो ।
मनाङमा चिसो बढ्न थालेपछि अधिकांश स्थानीयले जिल्ला छाडिसकेका छन् । विशेषगरी माथिल्लो मनाङका बासिन्दा जिल्ला छाडेर लमजुङ, काठमाडौं, पोखरालगायत अन्यत्र गएका हुन् । अधिकांशले जिल्ला छोडे पनि अत्यधिक चिसोका कारण मनाङमै रहनेको जनजीवन कष्टकर बनेको छ । पर्यटकको चाप रहने मनाङमा अत्यधिक चिसो भए पनि पर्यटक आउन छोडेका छैनन् । चिसो मौसममा जनजीवन कष्टकर भए पनि जसोतसो पर्यटकलाई सेवा सुविधा दिएको नेस्याङ–१, ढिकुरपोखरीका होटल व्यवसायी समिरबाबु घलेले बताए । “आन्तरिक तथा बाह्य पर्यटक आउन छोडेका छैनन्,” घलेले भने, “धेरै होटल बन्द भए पनि हामीले कष्टका साथ सेवा दिइरहेका छौं ।”
हाल मनाङमा केही स्थानीय बासिन्दा, केही कर्मचारी र ब्यापारीमात्र छन् । चिसोका कारण स्थानीयलाई बाहिर निस्कन कठिन छ । अत्यधिक चिसोले गर्दा खोला खाल्सालगायत पिउनका लागि ल्याइएको पानी पाइपभित्रै जम्न थालेपछि निकै कष्ट भएको स्थानीय बताउँछन् । पाइपभित्रै पानी जमेपछि पानीको मुहानमा पुगेर तातोपानी पाइपमा हालेर बरफ पगाल्न बाध्य भएको चामेका स्थानीय मेगबहादुर विक (म्याक्स)ले बताए ।
चिसो बढेपछि मनाङका विद्यालय बन्द गरिएका छन् भने विकास निर्माणका काम पूर्णरूपमा प्रभावित भएका छन् । थोरै जनसँख्या रहेको मनाङका अधिकांशले जिल्ला छोडेपछि विकास निर्माणको काम नभएको नेस्याङ–१ का वडाध्यक्ष भुजुङ गुरुङले बताए । मनाङको तिमाङदेखि माथिल्लो भागमा तीनसाता हिमपात हुने गर्दछ । तर करिब एक महिनापछि पुनः मंगलबारबाट भएको हिमपातले चिसो भने अत्यधिक भएको स्थानीयले बताएका छन् । मनाङको तापक्रम रातको समयमा माइनस २० देखि दिउँसोको समयमा माइनस १० डिग्रीसम्म रहेको बताइएको छ ।

सन्देश पौडेल/नेगम परियार

प्रतिक्रिया दिनुहोस्