सप्तकोसीमा यस वर्षकै उच्च बहाब «

सप्तकोसीमा यस वर्षकै उच्च बहाब

सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाब मापन भएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाब आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार पछिल्लो मापनमा सप्तकोसीमा दुई लाख ५७ हजार ७९० क्यूसेक प्रतिसेकेण्ड बहाब पुगेको छ । नदीको बहाव बढेसँगै कोसी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् ।
साउन ३२ गते कोसीमा यस वर्षकै बढी दुई लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड बहाब मापन गरिएको थियो । पहिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ । पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोसीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारणसमेत कोसी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाब थप बढ्ने आंकलन गरिएको छ ।
यसैबीच निरन्तरको वर्षासँगै कोसीको बहाबमा उतारचढाव देखिँदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ । नदीमा आएको उतार चढावका कारण यसअघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पुनः कटान सुरु भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए ।
उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । नदीको बहाब बढेसँगै प्रजिअसहितको टोली कोसी क्षेत्रको निरीक्षणमा गएको छ ।

प्रतिक्रिया दिनुहोस्