लिफ्ट प्रविधिबाट कालिगण्डकीको पानी तानसेनमा

लिफ्ट प्रविधिबाट कालिगण्डकीको पानी तानसेनमालिफ्ट प्रविधिबाट कालिगण्डकीको पानी तानसेनमाअमृत अधिकारीपाल्पा, २ माघ तानसेन बजारको खानेपानी समस्या समाधानका लागि कालिगण्डकी नदीबाट लिफ्ट प्रविधिमार्फत पानी ल्याउने कार्य सुरु भएको छ ।
जलवायु परिवर्तनका कारण पानीका मुहान दिनानुदिन सुक्दै जानु, बढ्दो जनघनत्वले पानीको माग बढ्दै जाँदा खानेपानी समस्या विकराल बन्दै गएपछि सरकारले ४० करोड लागतमा कालिगण्डकी नदीको पानी तानसेन ल्याउने गरी काम अगाडि बढाएको हो । आगामी वर्षभित्र कालिगण्डकीको पानी तानसेन खानेपानी तथा ढल निकाश विभाग, खानेपानी तथा सरफाइ डिभिजन कार्यालय, सुक्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाबाट खानेपानी व्यवस्थापनले काम सुरु गरेको हो ।
“नेपाल सरकारको केन्द्रीय बजेटबाट जिल्ला सदरमुकाम तानसेनको खानेपानी समस्या समाधान गर्नका लागि कालिगण्डकी लिफ्टिंग खानेपानी आयोजनाको काम सुरु भएको छ,” खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाका प्रमुख केशवलाल शाक्यले भने, “योजना सम्पन्न भएपछि तानसेनको खानेपानी समस्या समाधान हुनेछ ।
” तानसेन– १३ बौघागुम्हाको कालिगण्डकी नदी किनारबाट डिप बोरिंग गरी १ हजार ४४ मिटर उचाइमा ६ वटा स्टेसनमार्फत पानी तानेर नगरको खानेपानी समस्या समाधान गर्ने लक्ष्य आयोजनाको छ । खानेपानी आयोजनाका लागि सरकारले ३९ करोड ८६ लाख रुपैयाँ र १० प्रतिशत जनसहभागिताबाट खर्च गर्ने गरी बजेट विनियोजन गरी १८ महिनाभित्र काम सक्ने गरी काम थालिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाका डिभिजन इन्जिनयर शाक्यले बताए । शाक्यका अनुसार आयोजनाको १० प्रतिशत भौतिक प्रगति र ३२ प्रतिशत वित्तीय प्रगतिअनुसार मुहानमा इनार खन्ने, पाइप खरिद, स्टेसन निर्माण गर्ने र विद्युत् विस्तारलगायतका कामहरू भएका छन् । आयोजनाका लागि विद्युत् विस्तारमा १ करोड ३७ लाखमा निर्माण जिम्मा दिइएको छ, यस्तै पाइप विस्तार र खरिद, टंकी निर्माणका लागि २५ करोड ८६ लाखमा रमनमृत संजिवनी जेभीलाई कामको ठेक्का दिइएको छ । कालिगण्डकीको पानी प्रशोधन प्लान्ट निर्माणका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
तानसेनको खानेपानी समस्या समाधानका लागि प्रतिघण्टा १ लाख ४४ हजार लिटर पानी ल्याई दैनिक २६ लाख लिटर खानेपानीको आपूर्ति गर्ने गरी काम थालिएको र समयमै काम सम्पन्न गरी नगरवासीको खानेपानी समस्या समाधान गरिने खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष डा. पुरनमान वज्राचार्यले बताए । अहिले तानसेनमा दैनिक १० लाख लिटर खानेपानीको माग छ । कालिगण्डकी खानेपानी आयोजना निर्माण भएपछि १५ वर्षसम्मको माग थेग्न सक्ने खानेपानी कार्यालयले जनाएको छ । पहाडकी रानीको रुपमा रहेको तानसेनको पछिल्लो समयमा खानेपानी समस्या विकराल बन्दै गएकोले कालिगण्डकी खानेपानी आयोजना आएपछि खानेपानी समस्या समाधान हुने स्थानीय सुनिता पन्थीले बताइन् । “तानसेनमा खानेपानी आपूर्ति नियमित नहुँदा हिउँदको समयमा १५ दिनसम्म पनि पानीको पालो आउँदैनथ्यो,” तानसेन–३ की पुष्पा श्रेष्ठले भनिन्, “जसले गर्दा गृहणी र विद्यार्थी बढी मारमा परेका थिए, अब कालिगण्डकी खानेपानी आयोजना सम्पन्न भएपछि जिल्ला सदरमुकाम तानसेनमा खानेपानी समस्या समाधान हुने छ ।”
“पाल्पा पर्यटकीय नगरी भए पनि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक पर्याप्त पानी नहुँदा समस्यामा पर्ने गरेका थिए,” पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा होटल व्यवसायी मोहन प्रसाद श्रेष्ठले भने, “अब पर्याप्त खानेपानीको व्यवस्थापन भएमा पर्यटकलाई समेत सहज हुनेछ ।” तानसेनमा अहिले सिस्ने, बन्दिपोखरा, अमरनारयाण, तीनधारे, होलांगदीलगायतका मूलबाट लिफ्ट प्रणालीबाट पानी ल्याई खानेपानीको व्यवस्थापन गरिँदै आएको छ ।