Logo

वित्त आयोगको रणनीतिक योजना मस्यौदा तयार

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (एनएनआरएफसी)ले प्रथम पञ्चवर्षीय रणनीतिक योजनाको मस्यौदा तयार गरेको छ । एनएनआरएफसीले आर्थिक वर्ष २०७८-०७९ देखि २०८२-०८३ को लागि पञ्चवर्षीय रणनीतिक योजनाको लागू गर्ने तयारी थालेको हो ।
आयोगले संघीय शासनको सबलता : स्रोत बाँडफाँटमा समन्याय, सन्तुलन, दक्षता र पारदर्शिता भन्ने दीर्घकाली सोच र अन्तरसरकारी वित्तीय सम्बन्ध सुदृढ हुने गरी प्राकृतिक तथा वित्तीय स्रोतको परिचालनमा वस्तुनिष्ठ भूमिका निर्वाह गर्ने ध्येय राखेको छ ।
यस्तै आयोगले प्रभावकारी वित्तीय हस्तान्तरण तथा स्रोत व्यवस्थापनबाट संघीय इकाईहरुको लम्बीय तथा अनुप्रस्थ समता र सन्तुलन हासिल गर्न सक्षम हुने लक्ष्य राखेको छ । मस्यौदा रणनीति वेबसाइटमा प्रकाशन गरी आयोगले सरोकारवालाहरुसँग भदौ मसान्तसम्मको समयावधि दिएर सुझाव समेत माग गरेको छ । आयोगले पाँच वटा उद्देश्यहरु समेत तय गरेको छ । आयोगले ५ वटा उद्देश्यहरु पूरा गर्न २२ वटा रणनीतिहरु र सो अन्तर्गत १३२ वटा कार्यनीतिहरु ३२५ वटा क्रियाकलापहरु तय गरेको छ ।
आयोगले रणनीतिक योजना कार्यान्वयनको क्रममा आन्तरिक तथा बाह्य कारणहरुबाट विभिन्न प्रकारका जोखिमहरुको सिर्जना हुन सक्ने भन्दै जोखिमको पहिचान गरेको छ । रणनीतिक योजना कार्यान्वयनका लागि अनुमानित बजेटको उपलब्धता, विश्लेषण तथा सिफारिसको लागि आवश्यक तथ्यांकको उपलब्धता, आयोगको लागि आवश्यक दक्ष जनशक्तिको पूर्ति तथा कर्मचारीहरुमा उत्प्रेरणा तथा मनोबलको अवस्थालगायतका ११ वटा जोखिमहरु पहिचान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्