दाताको सहयोगमा आश्रममा थपिँदै पूर्वाधार «

दाताको सहयोगमा आश्रममा थपिँदै पूर्वाधार

साढेतीन दशकदेखि असहाय जेष्ठ नागरिकलाई संरक्षण दिँदै आएको धनकुटाको मूलघाटस्थित विश्रान्ती वृद्धाश्रममा पूर्वाधार निर्माण भइरहेको छ । दान तथा सरकारका विभिन्न परियोजनामार्फत आश्रित जेष्ठ नागरिकको सुविधा तथा विभिन्न धार्मिक र पितृकार्यका लागि हरिहर भवन, पुराण श्रवण केन्द्र, पितृघर, आवास तथा वृद्धमैत्री पटाङ्गिनीलगायतका संरचना निर्माणअघि बढिरहेको छ ।
दान संकलन, दाताहरूको सहयोग र महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको करिब तीन करोड ४५ लाख रुपैयाँको लागतमा विश्रान्ती परिषरमा पूर्वाधार व्यवस्थापनको काम भइरहेको आश्रम व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिए । वृद्धाश्रममा पूर्वाधार व्यवस्थापनका लागि दाताहरूले एक रुपैयाँदेखि ७७ लाख रुपैयँसम्म दान गरेका छन् । पितृ उद्धार र मरणोशान्तिका लागि भन्दै पितृघर निर्माण गर्न संखुवासभाको चैनपुरका कृष्णगोपाल श्रेष्ठले दान स्वरुप ७७ लाख रुपैयाँ उपलब्ध गराएका छन् । उनले आश्रित जेष्ठ नागरिकका लागि वार्षिक २५ क्विन्टल चामललगायतका खाद्यान्न पनि उपलब्ध गराउँदै आएका छन् ।
निर्माणाधीन हरिहर भवन मृत्यु संस्कारका लागि आउनेहरूलाई संस्कार अवधिभर निःशुल्क उपलब्ध गराइने बताएको छ । घिमिरेले भने, “परिवार नहुने, क्रियाकर्मका लागि स्थान अभाव भएका तथा जलाशय छेउमै अन्तिम संस्कार गर्न चाहनेलाई उपलब्ध गराउने योजना छ ।” १८ लाख रुपैयाँको लागतमा समाजसेवी धनकुटा– ७ का पुष्करप्रसाद जोशीले आश्रमका लागि आफ्नै खर्चमा एक तले पुराण श्रवण कक्ष निर्माण गरिरहेका छन् । निर्माण पश्चात भवन आश्रम व्यवस्थापनलाई हस्तान्तरण हुने महासचिव जनार्दन घिमिरेले जानकारी दिए । यस्तै समाजसेवी कृष्णा श्रेष्ठले ५ लाख ११ जापान बस्दै आएकी अरुणा श्रेष्ठले ५ लाख ११ तथा धनकुटा– ५ की इन्द्रलक्ष्मी उदासले ५ लाख ११ हजार रुपैयाँ उपलब्ध गराएकी छन् । चालू आवको बजेटमा व्यवस्था भएअनुसार सहरी विकास तथा भवन निर्माण विभागमार्फत ३२ जना वृद्धवृद्धाका लागि आधुनिक आवास गृह निर्माणको काम भइरहेको छ ।
सरकारले बजेट वक्तव्यमार्फत सातवटै प्रदेशमा एक-एकवटा वृद्धाश्रम खोल्ने कार्यक्रमअनुसार विश्रान्तीमा उक्त भवन निर्माणाधीन अवस्थामा छ । त्यहाँ आश्रित वृद्धवृद्धाको भरणपोषणका लागि व्यवस्थापनले चलाएको एक रुपैयाँबाट एक करोड अभियान जारी छ । ७ वर्षदेखि चलाइएको अभियानबाट १ करोड २५ लाख रुपैयाँ संकलन भइसकेको छ । आर्थिक अभावका कारण वृद्धवृद्धाको भरणपोषणमै समस्या भएपछि व्यवस्थापनले एक रुपैयाँबाट एक करोड अभियान चलाएको थियो । २०४१ सालमा समाजसेवीहरू स्व. रामनारायण श्रेष्ण, कृष्णप्रसाद वस्ती, शिवप्रसाद पोखरेल, पहलमाज प्रधान, हरिप्रसाद घिमिरे तथा शारदाप्रसाद मिश्र र नीलबहादुर घिमिरेको पहलमा तमोर किनारमा स्थापना गरिएको आश्रमको जग्गा र पूर्वाधारमा मात्रै एक अर्बभन्दा बढी लगानी भइसकेको घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्