बागलुङमा निषेधाज्ञा खुकुलो

त्रिलोचन रिजाल
बागलुङ – कारोना संक्रमीतहरुको संख्या घट्दै जान थालेपछि बागलुङमा दुई सातादेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । संक्रमितको संख्या अनियन्त्रित रूपमा बढ्न थालेपछि साउन २८ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले बजार र सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । केही दिनयता कोरोना संक्रमण दरमा कमी आएपछि शुक्रबारदेखि बजार, पसल, उद्योग व्यावसाय, सार्वजनिक सवारी साधन सञ्चालनका लागि खुला गरिएको हो । भदौ १० गते राति १२ बजेपछि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बजार, यातायात, बैंक तथा वित्तिय संस्था सहकारी संस्थाहरु नियमित रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सञ्चालन गर्न सकिने भएको छ । सहकारी संस्थाहरुले बजारमा घरदैलो गरी बचत संकलन गर्न भने नपाउने भएका छन् ।
सार्वजनिक तथा निजी क्षेत्रका सवारीमा स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्ने, सबै प्रकारका पेशा, व्यवसाय, पसल बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सञ्चालन गर्न पाउने, आवासीय होटल, रेष्टुराँ, चिया तथा खाजा पसल आवश्यक मापदण्ड पालन गरी संचालन गर्ने निर्णय भएको प्रजिअ शिवकुमार कार्कीले बताए । विवाह तथा पार्टी प्यालेसहरु, सिनेमा हल, फुटसल, पार्क, खेलकुद स्थल, जिमखाना, शैक्षिक संस्थालगायत बढी भीडभाड हुने स्थलहरु संचालन गर्न नपाउने निर्णय भएको हो । नजिकिँदै गरेका तीज लगायतका पर्वहरु घरभित्रै पारिवारिक रुपमा मनाउने निर्णय गरिएको कार्कीले बताए ।
कोरोना संक्रमण बढेको भन्दै प्रशासनले भदौ १० गतेसम्म पूर्णरूपमा पालना हुनेगरी निषेधाज्ञा लगाएको थियो । बिहीबारसम्म जिल्लामा ३ सय ४८ सक्रिय संक्रमित छन् । कोरोनाबाट ६५ जनाको मृत्यु भएको छ ।