प्रदेश–१ को मुख्यमन्त्रीमा भीम आचार्य

प्रदेश–१ को नयाँ मुख्यमन्त्रीमा नेकपा एमाले सचिव भीम आचार्य प्रदेश–१ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
नेकपामा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा लागेका आचार्य पछिल्लो समय खेमा परिवर्तन गरेसँगै प्रदेश–१ को मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बिहीबार नै नेकपा एमाले प्रदेश–१ को संसदीय दलको बैठकले संसदीय दलको नेतामा आचार्यलाई चयन गरेको थियो । आचार्यलाई संसदीय दलको नेता र मुख्यमन्त्री बनाउन प्रदेश–१ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले मार्गप्रशस्त गरेका थिए । राईले बिहीबार नै संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । राईको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ मुख्यमन्त्रीका रुपमा आचार्यलाई शपथग्रहण गराए । शपथग्रहण सकिएलगत्तै बिहीबार नै आचार्यले मुख्यमन्त्रीका रुपमा कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्दै आचार्यले सुशासन, विकास र कोरोना महामारी नियन्त्रणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । आचार्यले सीमित स्रोत, साधन र निश्चित कार्यक्षमता र सम्पूर्ण रुपमा तयार भइनसकेको संरचना रहेकाले सरकारका अगाडि समस्यामा चाङहरू रहेको बताए ।
नेपाल समूहका ८ सांसदको साथ
नेकपा एमाले एमालेको विभाजनले औपचारिकता पाएसँगै प्रदेश–१ को मुख्यमन्त्री बनेका आचार्यलाई एमाले विवादमा माधवकुमार नेपालको पक्षमा खुलेका ८ जना सांसदले साथ दिएका छन् । यसअघि नेपाल समूहमा आचार्यसहित १८ जना सांसद रहेकामा आचार्यलाई दलको नेता बनाउन बिहीबार बसेको संसदीय दलको बैठकमा नेपाल समूहका ८ सांसद सहभागी भएका हुन् ।
आचार्यलाई दलको नेता चयन गर्न आयोजित बैठकमा भौतिक रुपमा २४ जनाको उपस्थिति थियो । प्रदेशसभाको एमाले संसदीय दलमा ५१ सदस्य रहेकामा दलको नेता परिवर्तन गर्ने माईन्युटमा केही सदस्यले भने प्रदेश प्रमुखको कार्यालयमै पुगेर हस्ताक्षर गरी बहुमत जुटाएका थिए । बैठकमा सहभागी नभए पनि राजकुमार ओझा र ज्ञानेश्वर राजवंशी निर्णयमा पछि हस्ताक्षर गरेका थिए । यसअघि ओली समूहमा ३२ जना रहेकोमा संसदीय दलको बैठकमा १८ जना मात्र उपस्थित रहेका थिए ।
आचार्य मुख्यमन्त्री बन्दै गर्दा यसअघि प्रधानमन्त्री केपी ओलीले प्रतिगमन गरेको भन्दै पुस ५ पछि सामाजिक विकासमन्त्रीबाट राजीनामा दिएर आन्दोलनमा होमिएका जीवन घिमिरेले पनि साथ दिएका छन् । घिमिरे आचार्य नेतृत्वको सरकारमा मन्त्री बन्ने स्रोतले जनाएको छ । यसैगरी यसअघि नेपाल समूहमा रहेका मोरङका सांसदहरू लीलावल्लभ अधिकारी, यशोदा अधिकारी, सुनसरीकी सावित्री जोशी, तेह्रथुमका लक्षुमन तिवारी, ताप्लेजुङका बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा पनि एमालेमा फर्किएका छन् । उनीहरू संसदीय दलको बैठकमा सहभागी भएका छन् ।
नेपाल समूहमा रहेका सांसदहरूमध्ये भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, पाँचथरका गणेश काम्बाङ र मोरङकी कृष्णकुमारी राई नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य बनिसकेका छन् । यस्तै मोरङकै उपेन्द्र घिमिरे र सावित्रा रेग्मी, उदयपुरकी सुनिता चौधरी, इलामकी खिनु लङ्वा लिम्बू, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ पनि एकीकृत समाजवादीमा रहने बताइएको छ । उनीहरू बिहीबारको एमाले बैठकमा सहभागी भएनन् ।
आचार्यलाई ५ सांसदको भर
प्रदेशसभाका ५ सांसद मात्र नयाँ पार्टीमा प्रवेश गरेमा आचार्य नेतृत्वको सरकारले बहुमत गुमाउने अवस्था छ । प्रदेशसभाको संसदीय दल विभाजन भएपछि एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । ९३ सदस्यीय प्रदेशसभामा अहिले कायम रहेका ९२ जनामध्ये बहुमतको लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । नेकपा एकीकृत समाजवादीमा ५ सांसद प्रवेश गरेका अहिलेको सरकार ढल्नेछ भने ७ जना सांसद प्रवेश गरेमा विपक्षी गठबन्धनको सरकार बन्नेछ । दल विभाजनसम्बन्धी अध्यादेशअनुसार २१ दिनभित्र प्रदेशसभाका सदस्यले नयाँ पार्टी रोज्न पाउनेछन् ।