हिमपातपछि स्याउ बगैंचा काँटछाँट «

हिमपातपछि स्याउ बगैंचा काँटछाँट

जुम्ला-यस वर्ष तेस्रो पटक हिमपात भएपछि कर्णालीका किसानलाई स्याउका बगैंचा व्यवस्थापनको चटारो सुरु भएको छ । जुम्लासहित कर्णालीका सबै जिल्लाका किसान स्याउ बगैंचाको व्यवस्थापन र विरुवा काँटछाँटमा व्यस्त भएका हुन् ।
यति बेला बगैंचा व्यवस्थापन तथा काँटछाँट नगरेमा उत्पादन घट्ने भएकाले सबै किसान बगैंचामै व्यस्त रहने गरेको किसान विष्णु अधिकारीले बताए । उनले यस वर्ष तेस्रो पटक हिमपात भएपछि उत्पादन बढ्ने आशा गरेको बताए ।
स्याउका बिरुवा काँटछाँटमा बेलैमा ध्यान दिए उत्पादन बढ्ने उनको विश्वास छ । स्याउ बगैंचा भएका अधिकांश किसान अहिले अन्य काम छाडेर बगैंचा व्यवस्थापनमै लागिरहेका छन् । कृषि विज्ञहरूका अनुसार यो समय स्याउका नयाँ विरुवा रोप्ने, काँटछाँट गर्ने, काटेको ठाउँमा वोडो मिक्चर लगाउने, विरुवालाई मलखाद दिने र सिँचाइ गर्ने बेला हो ।
“अहिले विरुवाले गर्भाधारण गर्ने समय हो,” कृषि प्राविधिक खेमराज शाहीले भने, “त्यसैले यतिबेला विरुवा काँटछाँट गर्दा कुनै असर पर्दैन, विरुवालाई मलखाद पनि अहिलेकै समयमा दिनुपर्छ ।” विगतका वर्षमा भन्दा यस वर्ष किसान सचेत भएकाले बगैंचा व्यवस्थापनको काम राम्रोसँग भइरहेको आफूले पाएको उनले बताए । जुम्लामा यस वर्ष झन्डै २३ करोड रूपैयाँ बराबरको स्याउ उत्पादन भएको थियो । यो गतवर्षको भन्दा ६ करोड रूपैयाँ बढीको उत्पादन हो ।
जुम्लाका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरीमा स्याउ बगैंचा छ । बाँकी घरधुरीमा पनि स्याउ बगैंचा लगाउन उत्साहित गर्ने योजना स्थानीय सरकारले लिएको छ । जुम्लामा २ हजार ५ सय हेक्टरमा स्याउ खेती हुँदै आएको छ । विभिन्न निकायले सिँचाइको पहुँच पु¥याएपछि पछिल्लो समय खेतीयोग्य जमिनदेखि सुख्खा डाँडापाखामा समेत धमाधम स्याउ बगैंचा निर्माण भइरहेका छन् । जुम्लाका आठ वटै स्थानीय तहमा स्याउ उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्