रोहिणी गाउँपालिकामा भवन बनाउन नक्सापास अनिवार्य

रुपन्देहीको रोहिणी गाउँपालिकाले मंगलबारदेखि गाउँपालिका क्षेत्रका घर एवं अन्य संरचनाको अनिवार्य नक्शापास गर्नुपर्ने नियम बनाएको छ । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै भदौ ८ गतेदेखि २०७९ असार मसान्तसम्म गाउँपालिकामा रहेका भवन, कलकारखाना एवं अन्य भौतिक संरचनाको नक्शापास गराए जरिवाना नलाग्ने र सोपछि नियमानुसार जरिवाना लाग्ने उल्लेख गरेको छ ।
रोहिणी गाउँपालिका क्षेत्रभित्र नक्शा अभिलेखीकरण गर्नुपर्ने नियम कार्यान्वयन हुनु अघि निर्माण सम्पन्न भएका र नक्शापास हुन बाँकी भवन, कलकाराखाना तथा संरचनाहरू अभिलेखीकरण असार मसान्तसम्म गरिसक्न गाउँपालिकाले अनुरोध गरेको छ ।
सो मितिभित्र अभिलेखीकरण गरे विलम्ब शुल्क नलाग्ने रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । यसका साथै अब बन्ने नयाँ भवन, कलकारखाना एवं अन्य संरचना बनाउन परे त्यसको अनिवार्य नक्सापास गराउनु पर्ने न्यौपानेको भनाइ छ । अहिले नक्सापास गरि घर बनाए नियमअनुसारको दस्तुरमात्र लाग्ने र कानुनविपरीत गई संरचना बनाए दस्तुरसंँगै जरिवानासमेत लाग्ने भएकाले उनले समयमै नक्सा सम्बन्धी काम गर्न आग्रह गरे ।
साविकको धकधई, पोखरभिण्डी, बगहा, बोदवार, छिपागढ र पजरकट्टी गाविस मिलेर बनेको रोहिणी गाउँपालिकामा सात हजार हाराहारीमा घरधुरी रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले जानकारी दिए ।
उनले यसअघि अव्यवस्थित रूपमा बसोबास रहेका कारण विभिन्न विकास निर्माणका काम गर्न कठिनाइ हुने गरेको बताउँदै ब्यवस्थित बसोबासका लागि घर नक्सापास अपरिहार्य रहेको बताए ।
कानुनअनुसार नक्सापास भए यसले नागरिक र स्वयं गाउँपालिकालाई पनि सहज हुने भएकाले यो अभियानमा समग्र रोहिणी गाउँपालिकाबासीलाई सहभागी हुन आग्रह गरे । पछिल्लो समय रोहीणी गाउँपालिका नगरोन्मुख हुँदै गएको छ ।