सकियो हिमालयन हाइड्रो एक्स्पो «

सकियो हिमालयन हाइड्रो एक्स्पो

काठमाडौं-राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो हिमालयन हाइड्रो एक्स्पो २०१९ आइतबार सकिएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा तीन दिने एक्स्पो ६० हजारले अवलोकन गर्दै सकिएको हो । एक्स्पोमा ८५ भन्दा बढी प्रदर्शकले सयभन्दा बढी स्टलमा जलविद्युत् क्षेत्रसँग सम्बन्धित उत्पादन, सेवा तथा परामर्श उपलब्ध गराएका थिए । एक्स्पोमा जलविद्युत् प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा बिमालगायत जलविद्युत्मा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता थियो । जलविद्युत्सँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको छ । एक्स्पोमा आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिंग उपकरणका क्षेत्रमा प्रख्यात भोइथ, इपिरोक माइनिगं इन्डिया, वासरक्राफ्ट, एपीई पावर, जीईपीपीईआरटी हाइड्रोपावर, तोसिबा कर्पोरेसन, डीईसी डगंफेगं इलेक्ट्रिक मेसिनरी, जेसीबी, हुन्डाईलगायतका प्रदर्शक आकर्षणका रूपमा थिए । यसका साथै रोबो प्रतिस्पर्धा, जलविद्युत्सँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनीलगायतमा पनि अवलोकनकर्ताको चासो देखिएको थियो ।
इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले एक्स्पोले जलविद्युत्सँग सम्बन्धित सबै क्षेत्रका सरोकारवालालाई एकै थलोमा उभ्याएर आ–आफ्ना क्षेत्रका सूचना आदानप्रदान गरिएको जानकारी दिए । पहिलोबाट दोस्रोमा आइपुग्दा जलविद्युत् क्षेत्रसँग सम्बद्ध व्यक्ति तथा संस्थाको उल्लेख्य सहभागिताले आगामी दिनमा एक्स्पोलाई अझै परिस्कृत रूपमा आयोजना गरिने एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

प्रतिक्रिया दिनुहोस्