सापारु औपचारिकतामा सीमित गरी मनाउन आग्रह «

सापारु औपचारिकतामा सीमित गरी मनाउन आग्रह

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले यसपालिको गाईजात्रा पनि सामान्य औपचारिकतामा सीमित गर्ने निर्णय गरेको छ ।


बैठकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ उपत्यकालगायत देशैभरी दिनानुदिन बढिरहेको र भक्तपुर जिल्लामा समेत सो रोगको संक्रमणका कारण मृत्यु हुने मृतकको संख्या दिनदिनै बढिरहेको वर्तमान अवस्थामा मृत्यु संस्कारको रूपमा ऐतिहासिक कालदेखि मनाउँंदै आएको गाईजात्रा पर्व यस वर्ष २०७८ को सापारु र गाईजात्रा अवधिभर घिन्ताङ्घिसि र अन्य सा“स्कृतिक नाचगान प्रदर्शन नगरी सामान्य औपचारिकतामा सीमित गरेर मनाउन दाफा भजन, सांस्कृतिक समूह, मृतक परिवारलगायत सम्पूर्ण नगरवासीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।


बैठकमा बोल्दै नगर प्रमुख प्रजापतिले कोभिड जोखिमका कारण नजिकिँदै गरेको सापारु पर्व र गुन्हीपुन्हीलाई शान्तिपूर्ण र सुरक्षित ढंगले औपचारिकतामा सीमित गर्न सरोकारवाला पक्ष, वडा वडाका सांस्कृतिक गुरु एवं सांस्कृतिक प्रतिनिधिसँग चरणबद्ध रूपमा छलफलमा गरेको बताए ।


कोभिड नियन्त्रणको उपाय भनेकै खोप अभियान प्रभावकारी सञ्चालन गर्नु रहेको हुँदा भक्तपुर नपाले नगरका सबै वडामा व्यवस्थित ढंगले खोप अभियान सञ्चालन गरिरहेको बताए । साथै जनतालाई कोभिडबारे सचेतना जगाउन नियमित रूपमा माइकिङ, गाईजात्रा प्रदक्षिणा मार्गमा निर्माण सामग्री हटाउन र सापारुको दिन भीड नहुने गरी पर्व मनाउन जनतालाई आग्रह गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्