नगर प्रमुख सरावगीको प्रमुख प्राथमिकता, मानव जीवनको रक्षा «

नगर प्रमुख सरावगीको प्रमुख प्राथमिकता, मानव जीवनको रक्षा

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले मानवताको सेवालाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन् । मानवीय सेवालाई प्रथामिकतामा राखेर क्रियाशील भएकैले विश्वभर फैलिएको कोरोना संक्रमणले जब वीरगन्ज लपेटिन थाल्यो, त्यसपछिको नगर प्रमुख सरावगीको सक्रियताको चौतर्फी प्रशंसा हुन थाल्यो ।
कोरोनाको पहिलो लहरमा ‘हटस्पट’ बनेको वीरगन्जमा संक्रमण नियन्त्रण, रोकथाम र व्यावस्थापनमा नगर प्रमुखले खेलेको भूमिका देशकै लागि नमुना बन्यो । उनले वीरगन्जमा कोरोना संक्रमितहरूको लागि उपचार गर्न छुट्टै अस्पताल संचालन गरेर धेरैको ज्यान जोगाउन सफल भए ।
तथापी उनको अस्पताल संचालन र व्यवस्थापनमा कमिसन र भ्रष्टाचारको उद्देश्य जोडेर धेरैले टिकाटिप्पणी गरे । तरपनि नगर प्रमुख सरावगी मानव जीवनको रक्षाका लागि त्यस्ता आलोचना, टिप्पणी र विरोधलाई पनि उनले वास्ता गरेनन् । वीरगन्जमा स्थानीय तहबाट कोरोना संक्रमितहरूको उपचारका लागि छुट्टै अस्पताल संचालन गर्ने, पीसीआर मेसिन खरिद, सामूहिक स्वाब संकलन र परीक्षण लगायतलाई नै केन्द्रमा राखेर नगर प्रमुख सरावगीले काम गरे ।
कोरोना संक्रमणको जोखिम रहँदासम्म नगरवासीको जीवन रक्षालाई नै पहिलो प्राथामिकतामा राखेर निरन्तर काम गरिरहेका छन् । उनले सडकमा भेटिएका गरिब, असहाय तथा असक्तहरूलाइ निःशुल्क भोजनदेखि मानव सेवा आश्रममा रहेका असहायहरूलाई खानाको लागि खाद्य सामग्री लगायत स्वास्थ्य सामग्रीको पनि व्यावस्था दिए ।
उनको सक्रियता अझै मानव जीवन रक्षामै केन्द्रीत छ । उनले मावन सेवा आश्रमको भवन निर्माणका लागि वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा जग्गा उपलब्ध गराएका छन् । त्यस्तै रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि वीरगन्ज महानगरपालिका वडा नम्बर ३ मा स्थित वीर्तामा जग्गा उपलब्ध गराएका छन् ।
रक्तसञ्चार भवन निर्माणको शिलान्यास समेत भईसकेको छ । उनले भवन निर्माणका लागि २५ लाख रुपैंया बजेट समेत विनियोजन गरेका छन् । महानगरपालिकाको तर्फबाट मात्रै होइन निर्माण हुन लागेको रक्तसञ्चार केन्द्रको भवनमा आफ्नो पिताको नाममा एउटा कोठा निजी स्रोतबाट बनाईदिने समेत घोषणा गरेका छन् ।
उनले मानव सेवा आश्रमको भवन निर्माण स्थलसम्म जाने पहुँचमार्गका लागि अभाव भएको जग्गा उपलब्ध गराउनका लागि नगद २५ लाख पनि प्रदान गरेका छन् । उनकै पहलमा नारायणी अस्पतालमा विद्युत आपूर्ति नियमित गर्नका लागि ट्रान्सफर्मर, अस्पतालमा आवश्यक अक्सिजन आपूर्तिका लागि पाईप जडान लगायतका कामहरू दाताहरूको सहयोगमा भएको छ ।
पछिल्लो पटक नगर प्रमुख सरावगीले रक्त सन्चार केन्द्रलाइ एक थान रेफ्रिजेरेटर प्रदान गरेको छ । रक्त सन्चार केन्द्रमा संकलन हुने रगत जगेडामा राख्नका लागि आवश्यक पर्ने रेफ्रिजेटेर बुधबार वीरगन्ज महानगरपालिकाले प्रदान गरेको हो । महानगरप्रमुख विजय सरावगीले नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति वीरेन्द्रराज कँडेललाई रेफ्रिजेरेटर हस्तान्तरण गरे ।
४ लाख ७५ हजार रुपैयाँमा खरिद गरेर रक्त सन्चार केन्द्रलाइ प्रदान गरिएको उक्त रेफ्रिजेरेटरमा एक पटकमा ३ सय ५० पोका रगत राख्न सकिने क्षमता रहेको छ । रक्त सन्चार केन्द्र वीरगन्जमा, संकलित रगत राख्ने रेफ्रिजेरेटेर नहुदा समस्या हुने गरेकोले वीरगन्ज महानगरपालिकाले पौने ५ लाख रुपैयामा रेफ्रिजेरेटर खरिद गरेर बुधबार रक्त सन्चार केन्द्र वीरगन्जलाई प्रदान गरिएको नगर प्रमुख सरावगीले बताए ।

‘मास्क लगाऔ’: अभियानमा नगर प्रमुख आफैं सक्रिय
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी सर्वसाधारणलाई मास्क लगाउन उत्प्रेरित गर्न आफै मास्क लगाऔं अभियानमा सक्रिय भएका छन् । कोरोना विरुद्धको लडाईमा मास्क र सामाजिक दूरी अत्यन्त आवश्यक भएकोले वीरगन्जमा संक्रमण घट्दै गएपनि लापरवाही बढ्न थालेपछि महानगर प्रमुख सरावगीले आफै ‘मास्क लगाऔं अभियान’ मा सहभागिता जनाएर सर्वसाधारणलाई मास्क लगाउन उत्प्रेरित गरे ।
बुधबार नेपाल युवा उद्यमी मञ्चले आयोजना गरेको मास्क लगाऔं अभियनामा प्रमुख अतिथिको रूपमा सहभागी भएर नगर प्रमुख सरावगीले मास्क लगाउन सबैलाई अनुरोध गरे । सर्वसाधारणमा कोरोना संक्रमणको त्रास हटेको जस्तै मास्क नलगाई हिड्ने गरेकोले सबैलाई मास्क अनिवार्य गराउन महानगर प्रमुख सरावगी आफैं पनि सक्रिय भएका हुन् । उनले सबैलाई मास्को प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, सरसफाइमा ध्यान दिन र साबुन पानीले हात धुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्