मौरी मर्न थालेपछि अर्गानिक तरकारी खेती

डडेल्धुरा-मौरी मर्न थालेपछि डडेल्धुराको आलिताल गाउँपालिकाका किसान अर्गानिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौरीपालनको पकेट क्षेत्रका रूपमा रहेको आलिताल गाउँपालिकामा विषादी प्रयोगका कारण मौरी मर्न थालेपछि यहाँका किसान अर्गानिक तरकारी खेती गर्न थालेका हुन् ।
तरकारी खेतीमा विषादी प्रयोगका कारण मौरी मर्न थालेपछि विषादीरहित बनाउन कृषक पाठशाला खोलिएको छ । जहाँ हरेक दिन मौरी बचाउने विषयमा कृषक–कृषकबीच छलफल हुने गर्दछ । स्थानीयले गाउँमा विषादीमुक्त बनाउन समूहमार्फत कृषक पाठशाला बनाई सिक्न थालेका छन् ।
आलिताल गाउँपालिकामा जिल्लाकै सबैभन्दा धेरै मह उत्पादन हुने गर्दछ । तरकारी उत्पादन गर्दा कृषकले विभिन्न विषादी प्रयोग गरेका कारण मह उत्पादन र तरकारी उत्पादनमा समयमा ह्रास आएपछि घरमै उत्पादन भएको कम्पोस्ट मल प्रयोगसँगै तरकारी उत्पादनमा वृद्धि भएको अग्रज कृषक शंकर धामीले बताए । उनले भने, “पछिल्लो केही वर्ष यता मौरी मर्न थालेपछि यहाँका सबै कृषक कम्पोस्ट मल प्रयोग गर्दै आएका छन् ।”
“मौरीपालनका लागि आलिताल गाउँपालिका उचित मौसम र पर्याप्त जंगल भएका कारण पनि यो क्षेत्रमा मौरी बस्न मन पराउँछन्,” उनले भने । त्यस्तै अर्का कृषक राधिका धामीले ५० वटा घार थियो अहिले २५ वटा घारमात्र छ, २५ वटा घारका मौरी मरेपछि मह उत्पादनमा कमी भएको गुनासो पोखिन् । मह उत्पादनको मुख्य क्षेत्र रहेको आलिताल क्षेत्रका बासिन्दा अन्य काम छाडेर मह उत्पादनमै लागेको स्थानीय रमेश धामीले बताए ।
गाउँपालिकाले पनि विषादी प्रयोगका कारण मौरी मर्न थालेपछि विषादी प्रयोग रोक्ने निर्णय गरेको छ । अर्गानिक तरकारी उत्पादन हुन थालेपछि तरकारीको माग बढेको किसान बताउँछन् । आलिताल गाउँपालिकाका किसानले मौरीपालनबाट बर्सेनि लाखांै रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।