भारतबाट आफ्नै हेलिकप्टरमा फर्के प्रधानसेनापति «

भारतबाट आफ्नै हेलिकप्टरमा फर्के प्रधानसेनापति

१२ वर्षपछि नेपालका प्रधानसेनापतिले भारतको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता हुँदा नेपाली सेनाकै हेलिकप्टर प्रयोग गरेका हुन् ।

काठमाडौं-प्रधानसेनापति पूर्णचन्द्र थापा भारतबाट नेपाली सेनाकै हेलिकप्टरमा स्वदेश फर्किएका छन् । भारतको औपचारिक भ्रमण पूरा गरी बुधबार प्रधानसेनपति थापा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरबाट स्वदेश फिर्ता भएका हुन् ।
१२ वर्षअघि तत्कालिन प्रधानसेनापति रुक्मांगत कटवालले पनि भारतको औपचारिक भ्रमणमा जाँदा र स्वदेश फिर्ता हुँदा सेनाकै जहाज प्रयोग गरेका थिए । प्रधानसेनापति थापा पुस २७ गते भारतीय स्थल सेनाको ‘मानार्थ महारथी’ सम्मान ग्रहण गर्न दिल्ली गएका थिए ।
सैनिक प्रवक्ता सहायक रथी यमप्रसाद ढकालका अनुसार प्रधानसेनापति थापा भारतको लखनउबाट एमआइ–१७ हेलिकप्टरबाट सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । “पछिल्लो १२ वर्षयता प्रधानसेनापतिज्यूहरू गैरसैनिक जहाजमार्फत् भारतको औपचारिक भ्रमण पूरा गरी फिर्ता हुनुभएको थियो,” सैनिक प्रवक्ता ढकालले भने, “यस पटक प्रधानसेनापति नेपाली सेनाकै एमआइ–१७ हेलिकप्टरमा औपचारिक भ्रमण पूरा गरी लखनउबाट काठमाडौं आउनु भएको छ ।” काठमाडौं फिर्ता हुनुअघि प्रधानसेनापति थापाले लखनउस्थित भारतीय सेनाको सेन्ट्रल कमाण्डको निरीक्षण गरेका थिए । भ्रमणका क्रममा नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेज र जयपुरस्थित ‘साउथ वेस्टर्न कमाण्ड’को पनि उनले निरीक्षण गरेका थिए ।
तत्कालिन प्रधानसेनापति कटवाल २०६४ मंसिर २३ गते भारतीय स्थल सेनाध्यक्षको ‘मानार्थ महारथी’ सम्मान ग्रहण गर्न नेपाली सेनाको एभ्रो जहाज (फिक्स्ड विङ जहाज)मा दिल्ली गएका थिए । औपचारिक भ्रमण पूरा गरी पुस १ गते आग्राबाट स्वदेश फिर्ता हुँदा पनि कटवालले एभ्रो जहाज नै प्रयोग गरेका थिए । त्यसपछिका प्रधानसेनापतिहरू छत्रमानसिंह गुरुङ, गौरवशमशेर जबरा र राजेन्द्र क्षत्री भने गैरसैनिक जहाजबाट भारतको भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका थिए । सैनिक प्रवक्ता ढकालले आफ्नै हेलिकप्टरबाट स्वदेश फिर्ता हुनु गौरवको विषय भएको पनि बताए ।
“नेपाली सेनाकै हेलिकप्टरमा विदेशबाट स्वदेश फिर्ता हुनु देशका लागि पनि गौरवकै विषष हो,” प्रवक्ता ढकालले भने, “यसअघि पनि आफ्नै जहाज तथा हेलिकप्टरमा फिर्ता हुन नसक्नुको कारण जहाज अभाव नै हो ।” त्यसो त भारतले नेपाली सेनाको हेलिकप्टर यसअघि उसको आकाशमा उड्न नदिएको तथ्य पनि यसअघि सार्वजनिक भइसकेको छ ।
२०४४ सालमा तत्कालिन प्रधानसेनापति सच्चित शमशेर राणाको बंगलादेश भ्रमणका क्रममा नेपाली सेनाको एभ्रो जहाजलाई भारतले आफ्नो आकाशमा उड्न रोक लगाएको थियो । भारतीय आकाश हुँदै नेपाली सेनाको सो जहाज बंगलादेश जान नदिएपछि प्रधानसेनापति राणाले गैरसैनिक विमान प्रयोग गरेका थिए । नेपालले चीनसँग एयरगन लगायतका हतियार खरिद गरेपछि रुष्ट बनेको भारतले १५ महिना नाकाबन्दी लगाएका बेला सेनाको जहाज आफ्नो आकाशमा उड्न दिएको थिएन । २०४६ सालको जनआन्दोलन सफल भएपछि अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको भारत भ्रमणपछि मात्रै नाकाबन्दीसँगै रोक लगाइएको हवाई रुट प्रतिबन्ध खुलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्