प्रधानसेनापतिको टोपी दिल्लीमै छुटेपछि हंगामा «

प्रधानसेनापतिको टोपी दिल्लीमै छुटेपछि हंगामा

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक पोशाकको जंगी ‘क्याप’ भारतको राजधानी दिल्लीमै छुटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हंगामा भएको छ ।
भारतको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता हुने क्रममा प्रधानसेनापति थापाको औपचारिक पोशाकको ‘ट्युनिक पोशाकको ‘फरेज क्याप’ दिल्लीमै छुटेपछि उनको स्वागत कार्यक्रम नै प्रभावित बनेको हो । फरेज क्याप छुटेपछि प्रधानसेनापति थापाले विमानस्थलको स्वागत सलामी समारोहमा कार्यालय पोशाकमा देखिए । उनी कार्यालय पोशाक तथा त्यसमा लगाउँने ‘बेरेट क्याप’मा उपस्थित भएका हुन् । सैनिक मूख्यालयमा आयोजित स्वागतमा भने उनी ट्युनिक पोशाकमै उपस्थित भएका थिए ।
सेनापतिको क्याप छुटेको तस्बीर सैनिक जनसम्पर्क निर्देशनालयले पठाएको तस्बीरमै स्पष्ट देख्न सकिन्छ । निर्देशनालयले पठाएको तस्बीर अनुसार प्रधानसेनापति थापाले कार्यालय पोशाक ‘चुस्ता’मा देखिएका छन् । जबकी यस्तो अवस्थामा औपचारिक पोशाक ट्युनिकमा उपस्थित हुनुपर्ने हो ।
सेनापति थापाको स्वागत गर्न पुगेका वलाधिकृत रथी हेमन्तराज कुँबर भने औपचारिक पोशाक ‘ट्युनिक’मै देखिएका छन् । ट्युनिक पोशाकको क्याप छुटेको विषयमा सँगै रहेका अंगरक्षकसँग स्पष्टिकरण लिइने सैनिक स्रोतले बतायो । प्रधानसेनापति थापा भारतीय स्थल सेनाध्यक्षको ‘मानार्थ महारथी’ सम्मान लिन पुस २७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्