प्रधानसेनापतिको कमाण्ड बलाधिकृतरथी शर्मालाई

प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई संगठनको कमाण्ड हस्तान्तरण गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारथ गरेका हुन् ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मङ्गलबारदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकिसकेकी छन् । सेनाको परम्पराअनुरुप प्रधानसेनापति थापा आफ्नो तीनवर्षे कार्यकाल सकिनु एक महिनाअघि अर्थात् मङ्गलबारदेखि घरबिदामा रहने भएकाले सेनाको कमाण्ड शर्मालाई हस्तान्तरण गरिएको हो ।
कायममुकायम जिम्मेवारी तोकिएका शर्माले आगामी भदौ २५ गतेदेखि नेपाली सेनाको ४४औँ प्रधानसेनापतिका रुपमा सैनिक नेतृत्व सम्हाल्नेछन् । स्वदेशमा सबै व्यावसायिक तालिम प्राप्त बलाधिकृतरथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद तथा सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् ।