पाँच महिनाअघि पुल बनेपछि स्थानीय खुसी «

पाँच महिनाअघि पुल बनेपछि स्थानीय खुसी

जिल्लाको पाणिनी गाउँपालिका–६ धातिवाङ र वडा नं. ७ अडगुरी जोडने पुल निर्माण सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय पूर्वाधार विकास कार्यालय अर्घाखाँचीमार्फत उक्त पुल बनेको थियो ।

झञ्ज्याङ–झन्द्रेक–धातिवाङ–नेटापोखरा–देउराली सडकअन्तर्गत डल्लेरहमा बनेको पुल एक वर्षमै सम्पन्न भएको हो ।
पुष्पा निर्माण सेवामार्फत आर्थिक वर्ष २०७६/०७७ अन्तर्गत २०७७ साल असार १४ गते सम्झौता भएको पुल निर्माणकार्य २०७८ सालको असार मसान्तमै सम्पन्न भएको थियो । बहुवर्षे ठेक्काअन्तर्गत पुल निर्माणका लागि २०७८ साल मंसिर २९ गतेसम्मको म्याद राखिए तापनि ठेकेदार कम्पनीले समय अवधिभन्दा पाँच महिना पहिला नै पुल निर्माणकार्य सम्पन्न गरेको छ । उक्त पुल भ्याटसहित दुई करोड ६२ लाख ९६ हजार ९८९ रुपैयाँमा सम्पन्न भएको हो ।


पुल निर्माणका लागि प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेको पहलमा बजेट विनियोजन भएको थियो । प्रदेश सभा सदस्य घिमिरले भने, “पुल तोकिएको समय अवधिभन्दा नै पहिला सम्पन्न गर्ने निर्माण व्यवसायीलाई धन्यवाद दिएँ ।”
पुल निर्माणसँगै धातिवाङ, अडगुरी, मैदानका करिब एक हजार घरधुरीलाई टेवा पुग्ने छ । पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई आवातजावतमा समस्या परेको थियो । समयमै पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्