पुल निर्माणका लागि अनसन «

पुल निर्माणका लागि अनसन

जनकपुरधाम-सिरहा जिल्लाको सीमाक्षेत्र पूर्व–पश्चिम हुलाकी राजमार्गमा पर्ने कमल नदीमा पुल निर्माणका लागि दबाब दिने उद्देश्यले मंगलबारदेखि जनकपुरमा रिले अनसन सुरु गरिएको छ । निर्माणाधीन पुल चाँडो सम्पन्न गर्न अनसन गरिएको हो । दुई सातादेखि सिरहाको पूर्व–पश्चिम हुलाकी राजमार्गमा पर्ने कमल नदीमा पुल निर्माणको माग राख्दै रामरिझन यादवको नेतृत्वमा रिले अनसन भइरहेको थियो ।
सिरहाको सीमा क्षेत्रमा पर्ने कमला र बलान नदीमा निर्माणाधीन रहेको पुललाई पूर्णता दिनका लागि दबाब दिने उद्देश्यले जनकपुरमा पनि रिले अनसन सुरु गरिएको हो । प्रदेश नम्बर २ को राजधानी रहेको जनकपुरको जनक चोकमै टेन्ट गाडेर रामरिझन यादवको अगुवाईमा अनिश्चितकालिन रिले अनसन सुरु भएको छ ।
पहिलो दिन रामबालक यादव, विनयकुमार शर्मा, मनोज पासवान र रामेश्वर यादव अनशन बसेका छन् । सप्तरी र सिरहाको सीमामा पर्ने बलान नदी तथा सिरहा र धनुषाको सीमानामा रहेको कमला नदीमा पुल नहुँदा वर्षौ देखि स्थानीयवासीहरू सास्ती भोग्दै आएका छन् । सिरहा र धनुषा जोड्ने कमला नदीको पुल साढे ७ वर्षदेखि निर्माणाधीन अवस्थामा अलपत्र छ । पुल नहुँदा वर्षायाममा सिरहाका बासिन्दा भारतको जयनगर हुँदै जनकपुर पुग्नुपर्ने बाध्यता झेल्दै आएको छ ।
यस्तै, सिरहा र सप्तरी जोड्ने बलान पुल पनि अलपत्र अवस्थामा छ । सो पुल निर्माणको ठेक्का पनि पप्पु कन्स्ट्रक्सनले नै पाएकोे छ । ठेकेदार कम्पनीले निर्माणाधिण पुलमा केही पिलर गाडेर काम अलपत्र अवस्थामा छाडेका छन् ।
हुलाकी सडक संघर्ष समितिले यी दुवै पुलको निर्माण ६ महिनामै सम्पन्न गर्नका लागि आवाज उठाउँदै आएको छ । संघर्ष समितिका संयोजक रामरिझन यादवले ६ महिनाभित्र दुवै पुल निर्माण भइसक्नुपर्ने माग राखेको छ ।
पुल निर्माणको काम ६ महिनाभित्र पूरा हुने आश्वासन सरकारले नदिएसम्म अनशन जारी रहने समितिका संयोजक यादवले बताए । साढे ३ वर्षभित्र काम सम्पन्न गर्ने गरी पप्पु, लुम्बिनी जेभीले पुल निर्माण सम्झौता गरेको थियो । ०७१ मंसिरमै निर्माण सक्नेगरी पप्पुले ३१ जेठ ०६८ मा सम्झौता गरेको थियो । पुलको फाउन्डेसनदेखि बिम स्ल्याबसम्मका लागि २८ करोड १५ लाख रुपैयाँमा ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले ७ वर्ष ७ महिनासम्ममा पिलरको बिम स्ल्याबसम्मको मात्र काम गरी वर्षौंदेखि अलपत्र अवस्थामा छाडेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले दिएको जानकारीअनुसार विभिन्न पटक म्याद थप्दा पनि काम सम्पन्न नहँुदा पप्पु कन्स्ट्रक्सन र लुम्बिनी जेभीलाई २०७५ मंसिर ३० गते सम्मको लागि अन्तिम समय दिएको थियो । यता सिरहाको सदरमुकाम सिरहा र प्रदेश नम्बर २ को राजधानी जनकपुर गरी दुई स्थानमा अनसन जारी रहेको हुलाकी संघर्ष समितिको संयोजक यादवले जनाए ।

 

प्रतिक्रिया दिनुहोस्