Logo

६ महिनाभित्र दर्जन उद्योग थपिँदै

हेटौंडा-उद्योग स्थापना गर्न सम्झौता गरी जग्गा मात्र ओगटेर बसेकाहरूलाई औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाहीको चेतावनी दिएपछि हेटौंडा औद्योगिक क्षेत्रमा धमाधम नयाँ उद्योग थपिन थालेका छन् । भौतिक पूर्वाधार निर्माण सकेका उद्योगले उत्पादन गर्न सुरु गरेका छन् भने अन्यले धमाधम भौतिक पूर्वाधार बनाउन थालेका छन् ।
गत कात्तिक महिनामा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले २७ वटा उद्योगलाई कारबाही तथा चेतावनी दिने सूची तयार गरेको थियो । जसमध्ये उद्देश्यविपरीत काम गरेको भन्दै ५ वटा उद्योगलाई २० देखि ५० हजार रुपैयाँसम्म जरिवाना गराइएको थियो । बाँकी २२ वटा उद्योगलाई ६ महिनाभित्र उत्पादन थाल्ने गरी काम गर्न निर्देशन दिइएको थियो । जग्गा सम्झौता गरी संरचनासमेत नबनाई बसेका उद्योगहरूले ६ महिनाभित्र उत्पादन थाल्ने गरी काम नगरे सम्झौता खारेज गर्नेसम्मको चेतावनी दिएपछि अहिले धमाधम काम भइरहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख नेपाल भूषण वैद्यले जानकारी दिए ।
हेटौंडा–८ स्थित विस्तारित औद्योगिक क्षेत्र र कपडा उद्योगको जग्गामा १९ वटा उद्योगले २०७३ सालमा स्थापनाको सम्झौता गरेका थिए । जसमध्ये केहीले उत्पादन सुरु गरिसकेका छन् भने केहीले धमाधम संरचना निर्माण गरिरहेका छन् । विस्तारित क्षेत्रमा सी हाइड्रो पावर, भविष्य मैदा मिल, थ्रीस्टार कम्पनीले केही समयअघि उत्पादन सुरु गरिसकेको प्रमुख वैद्यले बताए । त्यस्तै टिएसएन प्लाष्टिक पनि केही समयमै सञ्चालनको तयारीमा छ । अन्य उद्योगहरूले पनि धमाधम संरचना बनाइरहेको र यसवर्षभित्र करिब १५ वटाभन्दा बढी उद्योगले उत्पादन थाल्ने उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले बताए ।
हेटौंडा–८ मा २ सय ९० रोपनी जग्गामा क्षेत्र विस्तार गरेसँगै २ वर्षअघि १५ वटा उद्योगलाई स्थापनाको लागि अनुमति दिइएको थियो । बन्द रहेको कपडा उद्योगको जग्गामा पनि ४ वटा उद्योगलाई अनुमति दिइएको थियो । २०७३ सालमा सम्झौता गरेका उद्योगहरूले ढिलै भए पनि आफ्नो भौतिक संरचना र अन्य काम अघि बढाइरहेका छन् । हेटौंडा कपडा उद्योगको जग्गामा स्थापना अनुमति दिइएका उद्योगहरूले पनि आफ्ना भौतिक संरचना निर्माणको काम गरिरहेको संघका अध्यक्ष अर्यालले बताए ।
सडक, पानी तथा बिजुलीको अभाव भएको भन्दै सम्झौता गरेको दुई वर्षसम्म पनि नयाँ उद्योगहरूले आफ्नो संरचना निर्माण गर्न सकेका थिएनन् । विस्तारित औद्योगिक क्षेत्रमा उद्योग स्थापनाको लागि हेटौंडा रबर उद्योग, बीवाईएस हेटौंडा प्रालि, थ्री स्टार ग्रुप प्रालि, नेपाल प्लाष्टिक इन्डष्ट्रिज, सि. एभरेष्ट एण्ड काइफु नेपाल प्रालि, सनराइज कन्टेनस् प्रालि, नेसनल स्टुक्चर इन्जिनियरिङ प्रालि, फार्मर एग्रो सेन्टर प्रालि, न्युमकवानपुर खाद्य उद्योग, सिई हाइड्रो मेकानिकल वक्र्स, नेविको प्रालि, साउथ एसियन ब्रुअरी प्रालि, अविनाश एग्स प्रालि र भविष्य मैदा मिलले उद्योग सञ्चालनका लागि अनुमति लिएका छन् ।
कपडा उद्योगको जग्गामा श्रीनाथ फुड इन्डिष्ट्रिज प्रालि, लक्ष्मी पेन्ट्स्, सन रे इनर्जी प्रालि र एपेक्स फुड वेयर प्रालिले जग्गा सम्झौता गरेकोमा उनीहरूले पनि चाँडै नै उद्योग सञ्चालन गर्ने प्रतिबद्धतासहित काम गरिरहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । करिब ३१ सय रोपनी क्षेत्रफलमा फैलिएको हेटौंडा औद्योगिक क्षेत्रमा हाल एक सय १ वटा उद्योग चालु अवस्थामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्