चेपाङ बस्तीको पीडा «

चेपाङ बस्तीको पीडा


उमेरले २४ वर्ष पुगेका विश्वास चेपाङ केही महिना अघिमात्रै लमजुङ आएका हुन् । लमजुङमा उनको श्रीसम्पति केही छैन, अर्कैको बारीमा खेती लगाउँछन्, असारमा रोपेको धानपाकेको छैन । कोरोनाको प्रभावसँगै कँहिकतै कामगर्ने अवसर पनिपाएनन् ।
मकवानपुरदेखि लमजुङ आएसँगै उनको परिवार बेसीसहर–११, चितीको बरबोट गाउँस्थित चेपाङ बस्तीमा बस्दै आएका छन् । जीविकोपार्जनका लागि काम र दाम खोज्दै आएका विश्वास दुई साताअघि सुत्केरी भएकी श्रीमती, तीन बच्चा र वृद्धआमासहित अर्कैको घरमा बस्छन् । घरमा सुत्केरी श्रीमतीलाई खुवाउने चामलसमेत नहुँदा छिमेकीले दिएको मुठीदानले गुजारा चलाउँदै आएका छन् ।

एकातिर घरमा सुत्केरी श्रीमती, तीनजना नाबालक केटाकेटी, वृद्धआमा अर्कोतर्फ घरमा खानेकुरा केही नभएपछि छिमेकीले नै दया गरेर छाक टार्ने मेसो मिलाई दिएका छन् । उनको परिवारमा दयनीय अवस्था देखेपछि छिमेकीले विहान बेलुकीको छाक टार्ने अस्थायी व्यवस्था गरिदिएको स्थानीय अमृता चेपाङको भनाइ छ । “सुत्केरी बेथा लाग्दा पनि घरमा केही खाने कुरा रैनछ, रातभरि भोकै बसिछन्,” चेपाङले भनिन्, “हामीले थाहा पाएसँगै चामल उठाएर खानाको व्यवस्था गर्यो ।”
चरम गरिबीको चपेटामा परेका विश्वासको परिवारमा खाद्यान्न अभाव हुँदा चरम समस्या भएको छ । त्यसो त बरबोटमा बस्दै आएका चेपाङ समुदायका अधिकाँश परिवार विपन्न नै छन् । तर विश्वासको घर परिवारको अवस्था अहिले अलि फरक छ । आफ्नो सम्पति नहुनु, वर्तमान संक्रमणकालीन अवस्थामा काम गर्ने अवसर नपाउनुजस्ता समस्याले सुत्केरी श्रीमती र बालबच्चासहितको परिवार पाल्न समस्या भएको छ । सुत्केरी अवस्थामा समेत पौष्टिक खाना त के दुई छाक टार्नसमेत मुष्किल भएपछि चेपाङ परिवारले सहयोगको याचना गरेको छ । छिमेकीको सहयोगले केही दिन छाक टर्ने भए पनि दीर्घकालीन व्यवस्थापन नभएको विश्वास बताउँछन् । राहतभन्दा कामको अवसर खोजेका विश्वास श्रम गरेरै परिवार पाल्ने बताए ।
“अहिले खानेकुरा छैन, राहतले सुत्केरी श्रीमती, वृद्धआमा र अरु बच्चालाई पालेको छु,” विश्वास भन्छन्, “राहतले सधै गुजारा चल्दैन, सधै माग्ने कुरा पनि हुँदैन, बरु काम पाए गर्थेँ, श्रम गरेरै परिवार पाल्ने थिएँ ।”
खाद्यान्न संकट भोग्दै आएका सुत्केरी महिलासहितको चेपाङ परिवारलाई विभिन्न सामाजिक कार्यमा संलग्न अभियान्ताले राहत सहयोग गरेका छन् । सुत्केरी भएर पनि घरमा खानाको निम्ती कुनै स्रोत नभएको जानकारीमा आएसँगै लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापाको संयोजनमा बेसीसहरका १० जनाले आर्थिक संकलन गरी सहयोग गरेका हुन् ।
केही दिन अघिमात्रै विशेष काम लिएर चेपाङ समुदायमा पुगेका थापाले विश्वासको श्रीमती सुत्केरी भएको र घरमा खानेकुरा केही नभएर छिमेकीले सहयोग गर्दै आएको थाहा पाएपछि तत्कालै पौष्टिक खाद्यान्नको निम्ती १५ सय रुपैयाँ सहयोग गरेका थिए । त्यसलगत्तै आफ्नो साथी सर्कलसँग सहयोगको अपिल गरेको र सोही अनुरुप संकलन भएको १६ हजार ७८६ रुपैयाँ विश्वासको परिवारलाई हस्तान्तरण भएको हो ।

प्रतिक्रिया दिनुहोस्