संस्थागत सहकार्य र कार्यगत एकतामा निजी क्षेत्रको जोड

मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा एजेण्डामा काम गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ(सीएनआई)का पदाधिकारीहरूले साझा एजेण्डामा सहकार्य गर्ने बताएक हुन् । महासंघले सीएनआईका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघ सचिवालयमा स्वागत कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले सीआनआईका पदाधिकारीहरूको स्वागत गर्दै कार्यगत एकताको प्रस्ताव राखेका थिए ।
निजी क्षेत्रको प्रवद्र्धनका लागि काम गर्न अपरिहार्य भएकाले दुवै संस्थाबीच साझा एजेण्डा तय गरेर अगाडी जानुपर्नेमा सो अवसरमा जोड दिए । त्यसका लागि एउटा स्थायी प्रकृतिको संयन्त्र नै निर्माण गरेर जान सकिने बताए । यसका लागि छिट्टै संस्थागत सहकार्यलाई औपचारिकता दिनुपर्नेमा दुवै पक्षले जोड दिए ।
कोरोना महामारीबाट मुलुुकको अर्थतन्त्र उद्योग व्यवसाय कमजोर बनेका समयमा श्रमिक कामदारको तलवको विषय, कृषिमा विदेशी लगानी, बन्द हड्ताल लगायतका मुद्दामा भएका सहकार्यबाट सफलता प्राप्त भएकाले आगामी दिनमा पनि प्राथमिकता तय गरेर जानुु पर्नेमा जोड दिए ।
महासंघका अध्यक्ष शेखर गोल्छाले सीएनआईको नयाँ नेतृत्वसँग सहकार्य गर्न महासंघ तयार रहेको बताए । सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल निर्माण हामी सबैको साझा चासो भएकाले आर्थिक एजेण्डामा बलियो सहकार्य गर्नुपर्नेमा जोड दिए ।
“दुवै संस्थाको स्ट्रेन्थबाट थुप्रै कार्य गर्न सक्छौं” अध्यक्ष गोल्छाले भने, “हामीले आउने दिनमा अझ बढी सहकार्यका हातहरू अगाडि बढाउनै पर्छ ।”
मुलुकको अर्थतन्त्रको विस्तार, रोजगारी अभिवृद्धि, आर्थिक विकास दोहोरो अंकमा लैजाने र व्यापार घाटा आधा कटौती गर्ने मुख्य लक्ष्यका साथ महासंघले अगाडि सारेको नेट २०३० र सीएनआईले अगाडी बढाएको मेक इन नेपाल अभियान सफल पार्न सहकार्य गर्न गोल्छाले आग्रह गरे ।
सीएनआईका नवनिर्वाचित अध्यक्ष विष्णुुकुमार अग्रवालले संस्थागत सहकार्यका लागि महासंघले राखेको प्रस्तावमा सहकार्य गर्न सीएनआई तयार रहेको बताए । अध्यक्ष अग्रवालले निजी क्षेत्रबीच संस्थागत सहकार्य र कार्यगत एकतामा जोड दिए ।
दै अगाडि भन्नुभयो–
“अबका दिनमा हाम्रा प्राथमिकताका क्षेत्रहरू पहिचान गरेर अगाडी बढ्नै पर्छ” उनले भने, “निजी क्षेत्रको स्ट्रेन्थ देखाउन पनि सहकार्य बाहेक अर्को केही हुँदैन ।”
सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुुकुुन्तलाल हिराचन, सीएनआइका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह र हेमराज ढकालले अर्थतन्त्रको करिव ७० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्र माथि अहिले पनि पुरानै मानसिकताबाट हेर्ने दृष्टिकोण रहेकाले यसमा आमुुल परिवर्तन आवश्यक रहेको बताए । आगामी दिनमा अर्थतन्त्रका अगाडि निकै ठूला चुनौतीहरू आउने सम्भावना रहेकाले त्यसका लागि सिंगो निजी क्षेत्रलाई एक बनाएर लैजानुपर्नेमा पनि उनीहरुले जोड दिए ।