बिमा कम्पनीहरूको कर्जा बैंकको भन्दा महँंगो «

बिमा कम्पनीहरूको कर्जा बैंकको भन्दा महँंगो


बिमा कम्पनीहरूले बिमा लेख धितो राखेर बिमितहरूलाई दिने कर्जामा बैकभन्दा बढि ब्याजदर लिने गरेका छन् । बिमा समितिले कम्पनीहरूलाई कर्जाको ब्याजदर प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदरभन्दा बढी नहुने गरी निर्धारण गर्नुपर्ने व्यवस्था गरे पनि कम्पनीहरूले बैंकको भन्दा बढी ब्याज असुल्दै आएका हुन् ।
हाल बजारमा बाणिज्य बैंकको ब्याजदर एकल अंकमा रहेको छ । तर बिमा कम्पनीहरूले भने १० प्रतिशतभन्दा बढी ब्याजदर लिने गरेका छन् । सञ्चालनमा रहेका जीवन बिमा कम्पनीहरूमध्ये सबैको ब्याजदर १० प्रतिशतभन्दा बढी छ । यसैगरी केही कम्पनीहरूले बीमितबाट १२ प्रतिशत ब्याजदर लिने गरेको भेटिएको छ ।
सबैभन्दा बढी ब्याजदर विदेशी लगानी गरेको मेट लाइफ इन्स्योरेन्सको रहेको छ । कम्पनीले बिमितहरूबाट १२ प्रतिशत ब्याज लिँदै आएको छ । यसबाहेक राष्ट्रिय बिमा संस्थान, एसियन लाइफ र गुराँस लाइफको ब्याजदर ११ प्रतिशत रहेको छ ।
बिमा कम्पनीहरूले बिमितबाट लिने ब्याजदरलाई नियमन गर्नका लागि बिमा समितिले पहिलो पटक गत असारमा जारी निर्देशनमा ब्याजदरसम्बन्धी व्यवस्था गरेको हो । असारमा जीवन बिमा निर्देशिका जारी गर्दै समितिले बिमालेख धितोमा प्रदान गर्ने कर्जामा कडाइ गरेको थियो । निर्देशिकामा बिमितहरूले बिमा पोलिसी खरिद गरेको तीन वर्षपछि मात्रै बिमा पोलिसीवापत कर्जा पाउने व्यवस्था गरिएको छ । यसैगरी लगातार तीन वर्षको बिमा शुल्क भुक्तानी गरेपछि मात्रै बिमा पोलिसी धितो राखी समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा दिन सकिनेसमेत प्रावधान छ । यस्तो कर्जाको ब्याजदर प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदरभन्दा बढी नहुने गरी निर्धारण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
सञ्चालनमा रहेका १९ बिमा कम्पनीहरूले गत आर्थिक वर्षसम्ममा बिमालेख धितोमा करिब ५० अर्ब कर्जा प्रवाह गरेका छन् । राष्ट्रिय बिमा संस्थानका सूचना अधिकारी भोलानाथ घिमिरे बिमा कम्पनीको ब्याजदर बाणिज्य बैंकको भन्दा केही महँगो भएको र यसलाई परिमार्जन गर्ने चरणमा रहेको बताउँछन् । “वाणिज्य बैंकको भन्दा हाम्रो ब्याजदर केही महँगो देखिएको छ,” उनले भने, “यसलाई छिट्टै संशोधन गर्ने प्रक्रिया अघि बढाएका छौं ।”
बिमितले आफूले खरिद गरेको बिमालेख धितो राखेर तिरेको बीमा शुल्कको अधिकतम ९० प्रतिशतसम्म ऋण लिन सक्छन् । बिमालेख बाहेक अन्य धितो राख्न नपर्ने भएकाले बैंकको तुलनामा ऋण लिने प्रक्रिया सहज छ ।

प्रतिक्रिया दिनुहोस्