२५ लाखमा फोहोर मैला संकलन केन्द्र स्थापना

दमौली-तनहुँको बन्दीपुर गाउँपालिकाले फोहोर मैला संकलन केन्द्र निर्माण गरेको छ । गाउँपालिकाको सहरी क्षेत्रबाट उत्पादन हुने फोहोर मैला व्यवस्थापनका लागि वडा नं १ को कुखुरेपानीमा फोहोर मैला संकलन केन्द्र निर्माण गरिएको हो ।
गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष भानुभक्त पोख्रेलले २५ लाख लागतमा संकलन केन्द्र निर्माण गरिएको बताए । गाउँपालिकामा फोहोर मैला संकलन केन्द्र नहुँदा समस्या उत्पन्न भएपछि पाँच रोपनी सार्वजनिक जग्गामा संकलन केन्द्र निर्माण गरिएको उनले बताए । “फोहोर मैला संकलन केन्द्र नहुँदा चुँदी खोलानजिक जथाभावी फोहोर मैला विसर्जन गर्नुपर्ने अवस्था थियो,” उनले भने, “अब भने फोहोर मैला व्यवस्थापनका लागि सहज हुने विश्वास गरिएको छ ।”
गाउँपालिकाको सहरी क्षेत्रबाट दैनिक दुई ट्याक्टर फोहोर संकलन हुने गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले फोहोरमैला संकलन केन्द्र निर्माणका लागि केही समय अघिदेखि नै प्रयास गरिएको भए पनि जग्गाको पहिचान हुन नसक्दा ढिलाइ भएको बताए । उनले भने, “संकलन केन्द्रका लागि उपयुक्त खोजी गरिरहेका थियौं, त्यसैले केही समय ढिला हुन गयो ।” उनका अनुसार गाउँपालिकालाई पूर्ण सरसफाइ र वातावरणमैत्री बनाउने लक्ष्य लिइएको छ । उक्त लक्ष्य प्राप्तिका लागि गाउँपालिकाभित्र रहेका टोल विकास संस्थालाई सरसफाई र वातावरणमैत्री गतिविधिमा टेवा पु¥याउन गाउँपालिकाले सहयोग गर्ने थापाले बताए ।
फोहोरलाई मोहोर बनाउने सचेतना कार्यक्रम सञ्चालन गरी जनसहभागितामा सफा र सभ्य गाउँपालिकाको रूपमा विकास गर्ने योजना बनाइएको गाउँपालिकाले जनाएको छ ।