मन्दिरको भेटीमा लेखापरीक्षण

पुरातात्विक सम्पदाका रूपमा रहेका मठमन्दिरको दानदक्षिण तथा भेटीमा अनियमितता हुन नदिन लेखापरीक्षण गरिने भएको छ । सांस्कृतिक सम्पदा संरक्षण तथा भेटी व्यवस्थापन चुस्त बनाउन देशभरका मठमन्दिरको आम्दानी तथा खर्चमा लेखा परीक्षण सुरु गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखाका अनुसार ‘सांस्कृतिक सम्पदाको संरक्षण र भेटी व्यवस्थापन’ शीर्षक नै राखेर लेखापरीक्षण थालिएको हो । ऐतिहासिक तथा सांस्कृतिक महत्वका हजारौं मठमन्दिर तथा सम्पदाको उचित आर्थिक व्यवस्थापन नहुदा भेटी बापतको बर्सेनि करोडौं रुपैयाँ हिनामिना हुने गरेको बताइन्छ ।
महालेखा परीक्षक टंकमणि शर्माले महालेखाको आगामी प्रतिवेदनमै मठमन्दिर तथा सम्पदाको आर्थिक कारोबार तथा भेटी व्यवस्थापनको विवरण समेटिने जानकारी दिए । शर्माले मठमन्दिर लगायत सम्पदा तथा त्यसबाट प्राप्त हुने आम्दानीको लेखा परीक्षणले सम्पदा चोरी नियन्त्रण र भेटी व्यवस्थापनमा सहयोग बताए ।
पशुपतिनाथ, जानकी, मनकामना, हलेसीलगायतका मुख्य धार्मिक तथा सांस्कृतिक धरोहरको अर्थिक कारोबारमा केही व्यवस्थित भएपनि बाँकी पुरातात्विक महत्वका मठमन्दिर तथा सम्पदाको भेटी, दान-दक्षिणा लगायत नगद तथा जिन्सी आम्दानीको व्यवस्थापन हुन नसकेको महालेखाले जनाएको छ ।
महालेखाका अनुसार यसरी लेखा परीक्षण गरिनेमा करि १ हजारभन्दा बढी मठमन्दिरको आम्दानी तथा खर्चको लेखापरीक्षण हुने छ । मठमन्दिरको लेखापरीक्षण हुँदा सम्पदाको विवरण संकलन हुनुका साथै आम्दानीको सदुपयोग भए–नभएको पनि यकिन हुने महालेखाको दावी छ ।
“देशभर लेखापरीक्षणमा खटिएका कर्मचारीलाई मठमन्दिर तथा सम्पदाको पनि लेखा परीक्षण गर्न निर्देशन दिइएको छ,” महालेखापरीक्षक शर्माले भने, “देशकै पहिचानका रूपमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण र भेटीको सदुपयोग होस भन्ने सबैको चाहना छ ।”
महालेखा परीक्षकको कार्यालयले गुठी र मठमन्दिरको लेखा परीक्षणमा आवश्यक सहयोग र समन्वय गरिदिन सम्बन्धित मन्त्रालयमार्फत विभाग तथा मातहत कार्यालयहरूलाई निर्देशन दिएको छ ।
मठमन्दिर र गुठीको आम्दानी÷खर्च र त्यससँग जोडिएका सम्पदा संरक्षणमा सम्वन्धित मन्त्रालयबाट पनि उत्तिकै सक्रियता बढ्न आवश्यक रहेको महालेखा परीक्षक शर्माको भनाइ छ । हरेक दिन जसो यस्ता सांस्कृतिक सम्पदा तथा मठमन्दिरमा दानदक्षिण तथा बहुमूल्य जिन्सी सामग्री समेत दानका रूपमा आउने भएपनि पूजारी, मन्दिर व्यवस्थापन, टोलेगुन्डा, स्थानीय क्लबलगायतको मिलेमतोमा आर्थिक हिनामिना हुने गरेको हिमाली जिल्लाको लेखा परीक्षणबाट फर्किएका एक अधिकारीले बताए । लेखापरीक्षणले प्राचीन सभ्यता र सांस्कृतिक महत्वका बहुमूल्य मूर्ती चोरी र भेटी हिनामिना समेत नियन्त्रण र रोकथाम हुने महालेखाका अधिकारी बताउँछन् ।