कोरिया जान रोकिएका युवाको काम अघि बढाउन पहल गर्छौं : राजदूत पार्क «

कोरिया जान रोकिएका युवाको काम अघि बढाउन पहल गर्छौं : राजदूत पार्क


नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले रोकिएको इपीएसको काम अघि बढाउन आफूले पहल गर्ने बचन दिएका छन ।
बुधबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्दै पार्कले नेपालीहरुको परिश्रम र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरु खुशी रहेको उल्लेख गर्दै राजदूत पार्कले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरुलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए ।
मन्त्रालयमा भएको सो भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिवद्धता जनाउँदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गरे । “इपिएस अन्तरगत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवाहरु बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु” मन्त्री शर्माले भेटका क्रममा भने ।
भेटको क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे । उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरे । कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत् लगायतका क्षेत्रमा लगानी समेत गर्दै आएको छ । कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिकेक्निक कलेजको स्थापना गर्दैछ । उक्त कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ ।
मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोशिस गरिने बताए । राजदूत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको काममा भइरहेको ढिलाई बारे चासो राखेका थिए । आयोजनामा ढिलाई हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले बताए । यस विषयमा मन्त्री शर्माले उक्त आयोजना सरकारको पनि प्राथमिकताको क्षेत्र भएकोले काममा गति दिनेतर्फ पहल गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्