परिसंघमा ७ जना उपाध्यक्ष चयन «

परिसंघमा ७ जना उपाध्यक्ष चयन


नेपाल उद्योग परिसंघको विधान अनुसार ७ जना उपाध्यक्ष चयन भएका छन् । परिसंघको गभर्निङ काउन्सिलले उनीहरुलाई उपाध्यक्ष चयन गरेको हो । परिसंघको १८औं साधारणसभापछि विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
मंगलबार परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले उपाध्यक्षहरूको घोषणा गरेका हुन् । परिसंघको विधान अनुसार संस्थापक समूह, प्रतिष्ठानगत समूह र संस्थागत सूमहबाट उनीहरु उपाध्यक्ष चयन भएका हुन् । परिसंघको विधानमा भएको व्यवस्था अनुसार राष्ट्रिय परिषदका सदस्यहरू मध्येबाट उपाध्यक्षहरू चयन भएका हुन् ।
परिसंघका अध्यक्ष एमिरेट्स चौधरीले परिसंघलाई निजी क्षेत्रको अग्रणि संस्थाको रूपमा उभ्याउने गरी काम गर्न नवनिर्विचत पदाधिकारीहरूलाई आग्रह् गरे । उनले हरेक विषयमा गृहकार्य गरेर अघि बढ्नुपर्ने भन्दै नीति निर्माणमा परिसंघले सकारात्मक हस्तक्षेप अघि बढाउनुपर्ने उल्लेख गरे ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघका गतिविधि मुलुकमा औद्योगिकरणका निम्ति केन्द्रित हुने बताए । औद्योगिकरण विना मुलुकको दीगो विकास असम्भव रहेको भन्दै उनले त्यसमा परिसंघले अब्बल भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
यसैगरी परिसंघका निवर्तमान् अध्यक्ष सतिशकुमार मोरले परिसंघका सुझावहरू नीति निर्माणका क्रममा गम्भीरताका साथ लिन थालिएको भन्दै चालु आर्थिक वर्षको बजेटमा समेत महत्त्वपूर्ण सुझाव समावेश भएको उल्लेख गरे । उनले ह्विलिङ चार्ज तिरेर विद्युत् उत्पादकबाट उद्योगले विद्युत् खरिद गर्न सक्ने तथा ‘मेक इन नेपाल स्वदेशी – अभियान’ बजेटमा समावेश हुनु उल्लेखनीय उपलब्धि भएको बताए ।
परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले परिसंघले जहिले पनि उद्योगीको सामूहिक हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे । उनले नयाँ नेतृत्वले पनि त्यसैलाई आत्मसात गरी राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्