तत्काल पुनर्वासको व्यवस्था मिलाउन मेलम्चीबासीको माग

बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाउँदै तत्काल पुनर्वासको व्यवस्था हुने गरी आर्थिक सहायताको उचित व्यवस्था गर्न माग गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरूले केपी ओली नेतृत्वको अघिल्लो सरकार र स्थानीय सरकारले आफूहरूलाई राहत दिने विषयमा चासो नदिएपछि आफूहरू बिचल्लीमा परेको उल्लेख गर्दै उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । ओली नेतृत्वको अघिल्लो सरकार र स्थानीय सरकारले बाढी पीडितको पीडालाई सम्बोधन नगरेपछि पुनर्वाससहितको उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्रीलाई भेटेरैै ध्यानाकर्षण गराइएको मेलम्चीका बाढीपीडित सागरकुमार श्रेष्ठले बताए ।
उनले अघिल्लो सरकारले पीडितलाई राहत दिने काममा कुनैै गम्भिरता नदेखाएको भन्दै आक्रोश समेत व्यक्त गरे । उनीहरूले घरवारविहीन भएका, रोजीरोटी गुमाएका, व्यवसायमा क्षति पुगेकालाई तत्काल आर्थिक राहतको प्रबन्ध गर्न माग गरेका छन् । त्यसैगरी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्ध निर्माण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको स्थानीय श्रेष्ठले बताए ।
पीडितहरूले मेलम्ची नदीलाई पुरानैै धारमा कायम राख्न, बैंकबाट ऋण लिएर लगानी गरी व्यवसाय गरेकाहरूको व्याज मिनाह गर्न, विद्युत् महसुलमा छुट दिन, त्यहाँका उद्योगी, व्यापारी, विद्यार्थीका लागि अल्पकालीन र दीर्घकालीन राहतको घोषणा गर्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन ।
उनीहरूले सरकारले सिन्धुपाल्चोकलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवादसमेत दिएका थिए । उनीहरूले प्रधानमन्त्री देउवालाई बाढीग्रस्त क्षेत्रको अवलोकन गर्न पनि माग गरेका छन् । गत असार १ गते आएको बाढीमा परी मेलम्ची, हेलम्बु र पाँच पोखरीमा दर्जनौंको ज्यान गएको थियो भने कयौँ घरबारविहीन हुनुका साथै उनीहरूको हजारौं रोपनी खेतीयोग्य जमीन बगरमा परिणत भएको थियो ।