बागबजार ब्यवस्थित अभियान सुरु

डडेल्धुरा-डडेल्धुरामा सडक अव्यवस्थित भई सवारी दुर्घटनाको जोखिम बढ्न थालेपछि अमरगढी नगरपालिकाले सडक तथा बजार ब्यवस्थित अभियान थालेको छ । अभियान अन्तर्गत सडक आसपासमा अव्यवस्थित रूपमा राखिएका निर्माण सामग्री, अब्यवस्थित टहरा हटाउने र गाडीका ग्यारेजलाई ब्यवस्थित गर्ने लागेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सडक तथा बजार ब्यवस्थित अभियान अन्तर्गत अब्यवस्थित रूपमा सडक किनारा तथा बजार छेउमा खोलिएका गाडीका ग्यारेजलाई एकीकृत गरी संयुक्त ग्यारेज निर्माणको पहल थालेको छ । सडक किनारा तथा बजार छेउछाउमा खोलिएका ग्यारेजका कारण सडक तथा बजार अस्तब्यस्त भएको, सवारी दुर्घटनाको जोखिम बढेकाले ब्यवस्थित गर्न अमरगढी नगरपालिका–१ ढुन्ढुनेमा संयुक्त ग्यारेज निर्माण गर्ने अभियान थालिएकोे नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए ।
नगरप्रमुख ओझाका अनुसार पहिलो चरणमा संयुक्त ग्यारेज निर्माणको लागि १० लाखको लागतमा जग्गा सम्याउने काम भइरहेको छ । त्यसपछि आवश्यक बजेटको ब्यवस्था गरेर सो क्षेत्रमा कम्तीमा ५० सटर निर्माण गर्ने लक्ष लिएको छ । यसबाट नगरपालिकाको आन्तरिक आयस्रोतमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ ।
अमरगढी नगरपालिका–१ का वडाध्यक्ष लोकबहादुर ऐर नगरपालिकाको यो प्रयासबाट सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको ‘ट्रान्जिट प्वाइन्ट’ मानिने स्याउले बजार ब्यवस्थित हुने बताउँछन् । ढुन्ढुने क्षेत्रमा ग्यारेज निर्माणकार्य सम्पन्न भएपछि त्यहाँका स्थानीयमा रोजगारको अवसर प्राप्त हुने र त्यहाँको व्यापार व्यवसाय फस्टाउने अध्यक्ष ऐरको भनाइ छ ।
स्याउले क्षेत्रमा अब्यवस्थित रूपमा खोलिएका ग्यारेजले सडकमै गाडी मर्मत गर्दा आवागमनमा अवरोध भई बजार तथा सडक अस्तब्यस्त भएको गुनासो बढेको थियो । नगरपालिकाको संयुक्त ग्यारेज निर्माण अभियानले यातायात ब्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला ट्राफिक कार्यालय डडेल्धुराका प्रमुख गणेशसिंह नगारीले बताए ।
संयुक्त ग्यारेज निर्माणसँगै बजार क्षेत्रमा सरसफाइ ब्यवस्थापनमा समेत सहयोग पुग्ने नगरपालिकाले जनाएको छ ।