Logo

दुई करोड ३९ लाख राजस्व संकलन

उपभोक्ता ठगी गर्ने एक हजार व्यवसायी कारबाहीमा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ता ठगी गर्ने एक हजार ३५ व्यावसायिक फर्मलाई कारबाही गरेको छ । विभागले अनुगमन गरेर एक वर्षको अवधिमा उपभोक्ता ठगी गर्नेलाई कारबाही गरेको हो । आर्थिक वर्ष २०७७-०७८ को साउनदेखि असार मसान्तसम्म विभागले मुलुकभर २ हजार ९ सय ७४ व्यावसायिक फर्ममा अनुगमन गरेको थियो ।
बढी मूल्य लिएको, म्याद नाघेको सामान बिक्री गरेको, नापतौलमा समस्या देखिएका व्यवसायीलाई कारबाही गरिएको विभागले जानकारी दिएको छ । अनुगमनका क्रममा १ हजार ३५ फर्ममा कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरिएको विभागले जानकारी दिएको छ । सो अवधिमा ती व्यवसायीबाट २ करोड ३९ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरिएको विभागले जानकारी दिएको छ । सो अवधिमा ६९ व्यवसायी फर्मलाई स्पष्टीकरण सोधिएको छ । विभागका प्रवक्ता शिवराज सेढाईले एक वर्षको अवधिमा उपभोक्ता ठगी गर्ने १ हजार ३५ व्यवसायीलाई कारबाही गरिएको जानकारी दिए । बजार अनुगमनका क्रममा कैफियत भेटिएका व्यवसायी फर्मलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरिएको छ । उपभोक्ता संरक्षण ऐनमा निरक्षण अधिकृतले फिल्डमै कसुर अनुसार ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गर्न पाउने व्यवस्था छ । सोही अनुसार कारबाही गरिएको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार कारबाही पर्नेमा खाद्य तथा किराना पसल, पानी उद्योग, तेल उद्योग, तरकारी, सुपरमार्केट, औषधी पसल, सर्जिकल पसल, फलफूल पसल, मास्क उत्पादन र गार्मेन्ट रहेका छन् ।
निषेधाज्ञाको बेला बढी मूल्य लिने स्वास्थ्य सामग्रीका पसल धेरै कारबाहीमा परेका छन् । एक वर्षको अवधिमा बजारमा सबैभन्दा धेरै खाने तेलको मूल्य बढेको थियो । बढी मूल्य लिने तेल उद्योगलाई समेत विभागले कारबाही गरेको थियो । बजार अनुगमन गरेर सामानको नापतौल, मूल्यसूची, लेबल, विलविजक, उत्पादन र उपभोग्य मिति नभएको सामान विक्रि हुने गरेको पाइएको छ ।
एक वर्षको अवधिमा ३ करोड ७३ लाख ८४ हजार रुपैयाँ बराबरको म्याद नाघेको खाद्य सामग्री नष्ट गरिएको छ । गत वर्ष भएको निषेधाज्ञाका बेला म्याद नाघेका सामान रिलेबलिङ गरेर बिक्री गरेको फेला परेपछि नष्ट गरिएको थियो । ३७ वटा व्यवसायी फर्मलाई कारोबार रोक्का गरिएको छ । ३७ वटा नमुना परीक्षणका लागि संकलन गरिएको थियो । १९ वटालाई अभियोजनमा लगिएको विभागले जानकारी दिएको छ ।
विभागले बजार अनुगमन नियमित रुपमा गरेको बताए पनि बजारमा मूल्यवृद्धि, म्याद नाघेका सामान बिक्री, नापतौलमा कमी जस्ता समस्या कायम रहेको छ । निषेधाज्ञाको बेला व्यवसायीलाई कृत्रिम अभाव गराएर बजारमा अधिकांश सामानको मूल्य बढाएका थिए । खाने तेल, चिनी, पिठो, केराउ, सर्जिकल सामान, स्यानिटाइजर, मास्कलगायतका सामानमा मूल्य बढेको थियो । बजारमा पसलपिच्छे व्यवसायीले अधिकांश सामानमा मनपरी मूल्य लिई उपभोक्ता ठगिरहेका छन् । अत्यावश्यक वस्तु तथा सेवामा २० प्रतिशत भन्दा बढी नाफा राख्न नपाइने कानूनी व्यवस्था भएपनि दोब्बर तेब्बर मूल्य लिई ठगिरहेको उपभोक्ताको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्