Logo

परम्पराको शिकार कर्णालीका महिला

जुम्ला-तातोपानी गाउँपालिका–२ की २४ वर्षीया कालिकाडाँगी वैवाहिक बन्धनमा बाँधिएको १० वर्ष बित्यो । गरिबी र अशिक्षाका कारण साथीको लहलहैमा लागेर उनी १४ वर्षकै उमेरमा नै वैवाहिक बन्धनमा बाँधिएकी हुन् । अहिले उनी आठ, पाँच र एक वर्षकी तीन छोरीको आमासमेत बनिसकेकी छन् । २४ वर्षको उमेरमै तीन सन्तानको आमा बनेकी कालिकाको बिहेपछि पढाइ त रोकियो नै तर स्वाथ्यमा समेत असर परिरहेको छ ।
उनी भन्छिन्, “सानैमा बिहे गरेर पारिवारिक बन्धनमा बाँधिनुको पीडा बल्ल आएर थाहा भयो, राम्रोसँग आफ्नै स्वास्थ्यको ख्याल राख्न सकिएको छैन, त्यसैमा तीन तीनवटी छोरी हुर्काउनुपर्ने ।” यतिमात्रै होइन, कालिका अझै अर्को सन्तान जन्माउनुपर्ने दबाबमा छिन् । गाउँ समाजका अनुसार श्रीमान्ले छोरा जन्माउनुपर्ने दबाब दिइरहेको उनी बताउँछिन् ।
उनले थपिन्, “हामी नारीले सधै अर्काकै चाहना पूरा गर्नुपर्ने, परम्परा चालचलन अनुसार शरीरको बलिदानी दिनुपर्ने बाध्यता आखिर कहिलेसम्म हो ? हामी मर्न लागे पनि कसैलाई वास्ता छैन, अहिलेसम्म भोगेको जिन्दगी नै मेरा लागि बोझ महसुस भइरहेको छ । छोरा र छोरीबीच आखिर के छ, किन परम्पराको नाममा महिलालाई प्रयोग गर्छन् । छोरा पाउनु पर्ने दबाबकै क्रममा तीन छोरी भइसक्दा पनि छोरा पाउनै पर्ने तनाव र दबाब परिवार समाजले दिइरहेको उनको गुनासो छ ।
बिहेपछि कालिकाका श्रीमान् कृष्ण डाँगीको पढाइमा समेत पूर्णविराम लाग्यो । पढाइ छोडेर घरजममा लागेकाहरूको दैनिकी कष्टकर छ । कालिका घरमा छोरी हुर्काउँदै खेतीपाती गरिरहेकी छन् भने उनका श्रीमान् पाटनमा भेडा चराएर बस्छन् । तीन छोरीको जन्म दिँदा कालिकाले सुत्केरी स्याहार तथा उचित खानपान र उपचार नपाएका कारण दिनप्रतिदिन स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । कालिका डाँगी त एक उदाहरणमात्रै हुन् ।
कर्णालीमा यो समस्या व्याप्त छ । छोराकै मोहले गर्दा, जुम्ला कुडारीकी, पार्वती नेपालीले ११ छोरीलाई जन्म दिएकी छन् । परम्परले ग्रसित हाम्रो समाजले छोरा एक आवश्यकता हो, बाँचे पाल्ने, मरे फाल्ने भन्ने परम्परागत सोचाइको शिकार आफू पनि बनेको नेपालीले सुनाइन् ।
महिलाको शरीरमाथि गरिने ज्यादतीको अन्त्य गर्ने गरिब सोचाइ अन्त्य गरी, महिला स्वास्थ्य सुरक्षाका साथै, छोराछोरीबीचको भेदभाव हटाउनु पर्ने उनको माग छ । छोरी हुँदाहुदै पनि छोरा जन्मउनै पर्ने बाध्यताबाट कर्णालीका महिला पीडित छन् । यसमा कसैको ध्यान जान सकेको छैन ।
सरकारी सेवाबाट वञ्चित
बालविवाह गरेकै कारण कालिकाको विवाह दर्ता भएन । विवाह दर्ता नहुँदा नागरिकता नपाएपछि झण्डै ८ वर्षसम्म उनी महिलालाई सरकारले दिने सेवा लिन वञ्चित भइन् । गत वर्षमात्रै उनले नागरिकता बनाएकी छन् । नागरिकता नहुँदा उनकी जेठी छोरी पुष्पा र माइली छोरी कविताको समयमै जन्मदर्ता बनेन । छोरीको जन्मदर्ता नहुँदा सरकारले कर्णालीका बालबालिकालाई दिँदै आएको बालपोषण भत्ता खानबाट समेत उनका दुवै छोरी वञ्चित हुनुपरेको थियो । उनी एक प्रतिनिधि पात्रमात्रै हुन्, जिल्लामा यस्ता हजारौ घटना छन् ।
किशोर अवस्थामै आमा
तातोपानी–६ की जौमाया रोकायले १६ वर्षको उमेरमै विवाह गरिन् । उनले १७ वर्षको उमेरमै छोरो जन्माईन् । कलिलो उमेरमै एक सन्तान जन्मेपछि उनलाई पारिवारिक बोझ त छँदैछ, पढाइ पनि रोकियो । यस्तै सोही वडाकी कला विष्टको १७ वर्षकै उमेरमा एक सन्तान जन्मियो, शारीरिक रूपमा अपरिपक्व उनी अहिले बेलाबेलामा रिगाटा लाग्ने र पेट दुख्ने समस्या भएको बताउँछिन् । उनीहरू मात्र होइन वडा नम्बर ६ को हियाँखोला बस्तीमा १ दर्जन बढी विवाहित किशोरी छन् । त्यस्तै एक अध्ययनअनुसार तातोपानीको ४ नम्बर वडा जिल्लाकै बढी बालविवाह हुने ठाउँ हो । वडा अध्यक्ष धिरज जैशी बालविवाह गर्नेलाई सरकारी सेवाबाट वञ्चित गराउनुका साथै न्यूनीकरणका कार्यक्रम भइरहेको बताउँछन् ।
जिल्लाभरि यस्ता किशोरी आमाको संख्या एकिन नभए पनि ठूलो संख्यामा किशोरी आमा र कुपोषित बालबालिका छन् । विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको तथ्यांकलाई हेर्ने हो भने जिल्लाको पातारासी गाउँपालिकामा १३ देखि १८ वर्ष उमेर समूहका किशोरीको किशोरावस्थामा नै आमा बन्नेको सख्या वृद्धि भएको छ । मानसिक र शारीरिक रूपमा परिपक्व नभएका उनीहरू आमा बनेपछि उनीहरूबाट जन्मिने बालबालिका पनि कुपोषित नै जन्मिने गर्दछन् । जिल्लामा हाल ५४ प्रतिशत बालबालिका कुपोषित छन् ।
स्थानीय तहले महिला र बालबालिकाको क्षेत्रमा विशेष योजना बनाएर काम गर्ने बताए पनि कार्यान्वयनमा भने गएका छैनन् । तातोपानी गाउँपालिकाकाी उपाध्यक्ष गंगादेवी उपाध्याय महिलालाई सशक्तीकरण गराउन आवश्यक रहेको बताउँछिन् । बालबिवाह न्यूनीण्करण गर्न गाउँपालिका तथा वडास्तरबाट महिलाका लागि उपयोगी कार्यक्रम तर्जुमा गरिने उनको भनाइ छ । विद्यालय उमेरमा बालविवाह गर्ने क्रम नरोकिएकाले विद्यालयमा समेत यस विषयमा जानकारी दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्