मनाङको नार्पाभूमि जाने झोलुंगे पुल जोखिममा «

मनाङको नार्पाभूमि जाने झोलुंगे पुल जोखिममा

हिमाली जिल्ला मनाङमा अझै पनि बाढीको प्रभाव थपिँदै गएको छ । असार १ गतेदेखि सुरु भएको अविरल वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढीका कारण जोखिम थपिँदै गएको हो ।
वर्षासँगै आएको बाढीले सदरमुकाम चामेमा रहेका दुईवटा झोलुंगे पुल थप जोखिममा पारेको हो । चामे बजारमा रहेको मोटरेबल पुलसँगै रहेको झोलुंगे पुल र कोतोबाट नार फु गाउँतर्फ जाने मस्र्याङ्दी नदीमा राखिएको झोलुंगे पुल थप जोखिममा पारेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।
चामेका कोतो बजारबाट नार्पाभूमितर्फ जाने एकमात्रै झोलुंगे पुलमा मस्र्याङ्दी नदीमा आएको बाढीले क्षति पु¥याएर जोखिम बढेपछि आवतजावतमा रोक लगाइएको प्र्रजिअ लामिछानेको भनाइ छ । नदीमा आएको पानीको बहाबले पुलको पिल्लरतर्फ कटान सुरु गरेपछि झोलुंगे पुल जोखिममा परेको र हाल सो पुलबाट आवतजावतमा रोक लगाइएको प्रजिअ लामिछानेले बताए ।
नार्पाभूमितर्फ जाने एकमात्रै झोलुंगे पुल जोखिममा परेपछि मनाङको जनजीवन झनै कष्टपूर्ण हुने भएको छ । नार्पाभूमि जानका लागि अन्य विकल्प नहुँदा स्थानीयहरू चामेबजारको पुल तरेर जोखिमपूर्ण पहाड चढेर आवतजावत गर्न बाध्य भएको स्थानीयको भनाइ छ ।
मनाङमा केही दिन ठूलो वर्षा रोकिए पनि मस्र्याङदी नदीमा पानीको बहाव नरोकिएको मनाङ प्रशासनले जनाएको छ । पानीको बहाव कम नहुँदा तत्कालै संरचना पुनर्निर्माण गर्ने सम्भावना पनि नरहेको प्रशासनले जनाएको छ । बाढीपहिरोको जोखिम कायमै रहेकाले प्रभावित मनाङका स्थानीय अझै पनि आफ्नो घर फर्कन नसकेको चामेका स्थानीय म्याक्स विकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्