विकास निर्माणमा असारे प्रवृत्ति हटेन

देशमा हाल तीन तहका सरकार छन् । सरकारको बजेटमा राष्ट्रिय गौरवको आयोजनादेखि ग्रामीण क्षेत्रको सडक विस्तारका कार्यक्रम उच्च प्राथमिकतामा पर्दै आएका छन् । तर पनि यी सबै विकास निर्माणका काम अघिपछि भन्दा असारमा मात्र जोडबल गरेर टालटुल गर्ने प्रवृत्तिले भरपर्दो विकास नभएर रकम खर्च गर्ने पाटोमात्र बन्दै आएको छ । सरकारले हरेक वर्ष आमनागरिकको जनजीविकालाई लक्षित गर्दै विभिन्न नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गर्दै आएको छ ।
तर सरकारले नै प्रस्तुत गर्ने बजेटमार्फत विकास निर्माणसंँग जोडिएका मझौला तथा ठूला परियोजना तोकिएको समयभित्र कमै मात्रामा पूरा हुने गरेका छन् । विशेषगरी ठूला आयोजनाको निर्माणमा ठेकेदार कम्पनीको लापरबाही हुँदा सरकारका जनप्रतिनिधि नै बेखबर बन्ने गरेका छन् । जसको फाइदा उठाउँदै वर्षायाममा ताकेता गरेर छिटो काम सक्ने परिपाटीले विकासका काम असारे प्रवृत्तिमा सीमित भएको स्थानीय शेरबहादुर खड्काको बुझाइ छ । देशका हरेक क्षेत्रमा हाल असारे विकासको चटारो तीव्र गतिमा अगाडि बढिरेहको छ ।
रुकुम पश्चिममा पनि सडक पुनर्निर्माण, बाटोघाटो, मोटरेबल पुल तथा विभिन्न रोजगारमूलक कार्यक्रम र योजना यही असारे विकासको रफ्तारमा चलिरहेका छन् । तर त्यसको अनुगमन गर्ने प्रणालीमा सरकारका जनप्रतिनिधि, स्वयं उपभोक्ता समूह र सचेत नागरिक चुक्दा समयमै विकास निर्माणले गति लिन नसकेको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताए ।
असारे विकास प्रवृत्ति रोक्न सरकार र जनता सबै सचेत हुनुपर्ने उनको भनाइ छ । देशैभर हरेक वर्षको आर्थिक वर्ष सकिँंदै गर्दा विकास निर्माणका कामलाई असारे बजेटसँंग जोड्दा अधिकांश आयोजनाको काम टालटुलमै पूरा हुने गरेको छ । केही योजना अलपत्र अवस्थामा पुगेका छन् ।