सडक निर्माणमा ढिलाइ भएपछि स्थानीय आन्दोलित «

सडक निर्माणमा ढिलाइ भएपछि स्थानीय आन्दोलित

मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक खण्ड निर्माणमा ढिलाइ भएको भन्दै स्थानीय आन्दोलित बनेका छन् । राष्ट्रिय गौरवको आयोजना भए पनि ठेकेदार कम्पनीको लापारबाहीका कारण कामले गति लिन नसकेको भन्दै स्थानीय आन्दोलित भएका हुन ।


लोकमार्गको बागलुङ जिल्लामा १४२ किलोमिटर सडक पर्दछ । जसमध्ये ९० किलोमिटर सडक यस अगाडि नै कालोपत्रे भइसकेको छ । बाँकी ५२ किलोमिटर सडक निर्माणको चरणमा छ । जसअन्तर्गत बागलुङ बजारदेखि बिँहु–घोडाबाँधेसम्मको २५ किलोमिटर र निसीखोला खण्डको ४१ किमि सडकमात्र कालोपत्रे गर्न बाँकी छ । बिहुँ–घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी÷एससीएफ÷ईसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता अवधिमा निर्धारित काम सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप्दासमेत आयोजना अझै सकिएको छैन । निर्माण कम्पनीले जेठ मसान्तभित्र सडक कालोपत्रे गर्ने लिखित गरे पनि यो अवधिमा तीव्र गतिले काम नहुँदा सडक निर्माणको काम अलपत्र छ ।

सडक निर्माणमा भएको ढिलाइप्रति सचेत बनेका स्थानीयले पटक पटक निर्माण कम्पनीलाई घचघच्याउँदै आएका थिए । पटक पटकको आग्रहलाई निर्माण कम्पनीले सुनुवाइ नगरेपछि आफूहरू आन्दोलित भएको स्थानीय दिनेश कँंडेलले बताए । कालोपत्रेमा ढिलाइ किन, लोकमार्गमा सधैको सास्ती किन ? लगायतका नारासहितका प्ले कार्ड बोकेर आन्दोलनमा उत्रेका स्थानीयले निर्माण कम्पनीसँंग जवाफसमेत मागेका छन् । हरेक पटक असारको समयमा केही काम गरे जस्तो गर्ने र पैसा निकासा गरेर खाने गरेको स्थानीयको आरोप छ । समय र सम्झौता जति नै थपिए पनि काम भने जस्ताको तस्तै रहने गरेका कारण आफूहरू आन्दोलित बनेको कँंडेलले बताए
स्थानीयले निर्माण कम्पनीविरुद्ध आन्दोलन सुरु गरेपछि निर्माण कम्पनीका प्रतिनिधि र स्थानीयबीच वैशाखभित्र कालोपत्रे गर्नेगरी सम्झौता भएको छ ।

अक्षेतेस्थित इलाका प्रहरी कार्यालयको रोहवरमा निर्माण कम्पनी र स्थानीयबीच सम्झौता भएको काठेखोला गाउँपालिका–५ का वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए । हरेक महिना कामको प्रगति देखिने गरी काम गर्ने सर्तका आधारमा वैशाखसम्मको समय अवधि दिइएको उनले बताए । “अहिले बर्खाको समय छ, सडक कालोपत्रे गर्ने कुरा बर्खाको समयमा सम्भव पनि हुँदैन,” कँडेलले भने, “हामीले प्रत्येक महिनाको काम देखिनेगरी काम गर्न समय दिएका छौं । त्यसमा गाउँपालिकाका इन्जिनियरहरूले निरीक्षण गर्नुहुन्छ, वडा कार्यालयमा रिपोर्ट आउँछ त्यसअनुसार काम अगाडि बढ्छ ।” तोकिएको समयमा काम सम्पन्न नगरेको खण्डमा निर्माण सामग्रीदेखि उपकरणसमेत स्थानीयले जफत गर्नेगरी सहमति भएको उनले बताए ।


निर्माण कम्पनीले गत मंसिरमा जिल्ला प्रशासन कार्यालयमा ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने भनी लिखित सम्झौतासमेत गरेको थियो । लिखित सम्झौता गरे पनि यो अवधिमा तीव्र गतिले काम नहुँदा सडक निर्माणको काम अझै अलपत्र छ । बागलुङ—तल्लो बिहुँ खण्डको १३ किलोमिटर सडक निर्माण जिम्मा लिएको सिद्धिसाई प्रकाश कन्ट्रक्सन जेभीका आधिकारिक प्रतिनिधि दिपेन्द्र शाही र उपल्लो बिहुँ खण्डको १२ किमि सडक जिम्मा लिएको एमपी एसीएफ ईसीसी जेभीका आधिकारिक प्रतिनिधि सूर्यबहादुर खड्काले हस्ताक्षर गरेका थिए । प्रतिबद्धता जनाएपछि बागलुङ—बिहुँ खण्ड दैनिक ६ घण्टा सडक अवरुद्ध गरेर कामसमेत सुरु भएको थियो ।

२० दिनसमम दैनिक ६ घण्टा सडक अवरुद्ध गरेर काम गरे पनि त्यसले मूर्तरुप भने लिन सकेन । निर्माण कम्पनीले ६ महिनामा काम सक्ने भनेर सहमति गरेर गएपछि सुरुवाती दिनमा तीव्र गतिमा काम नगर्दा समस्या भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय कुस्माका प्रमुख मेघराज मरासिनीले बताए । “सुरुका दिनदेखि नै तीव्र गतिमा काम गरेको भए यो समस्या हुने थिएन,” उनले भने, “सुरुका दिनमा खासै काम गरेनन्, हामीले ताकेता गरेपछि पछिल्लो समय राम्रो काम भइरहेको थियो । यो वर्ष छिटो बर्खा लाग्यो काम अगाडि बढ्न सकेन ।”
माथिल्लो बिहुँ खण्डमा केही सडक कालोपत्रे गर्ने अन्तिम चरणमा पुगेको भए पनि वर्षात् छिटै सुरु भएका कारण काम रोकिएका एमपी÷एससीएफ÷ईसीसी जेभीका प्रतिनिधि रामकाजी श्रेष्ठले बताए । “कालोपत्रेको अन्तिम चरणमा पुगेका थियौं, वर्षात् सुरुभयो काम रोकियो,” श्रेष्ठले भने, “समय सीमा कटाउने हाम्रो इच्छा थिएन तर प्रकृतिसँंग जुध्न नसकिँदो रहेछ ।”

त्रिलोचन रिजाल

प्रतिक्रिया दिनुहोस्