‘तत्काल बाढीको खतरा छैन’

तत्कालका लागि बाढीको खतरा कहीँ नरहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीविद् दुर्गाप्रसाद घिमिरे तत्कालका लागि बाढीको खतरा टरेको जानकारी दिए । “मनसुन हेर्दा पानी त परिरहेको छ, तर लामो समयसम्म पानी परिरहेको छैन, छोटो समयमात्रै वर्षा भएको हुनाले तत्काल बाढीको खतरा देखिँदैन,” उनले भने ।
जल तथा मौसम विज्ञान विभागले वर्ष औसतभन्दा बढी पानी पर्ने भएका कारण बाढी पहिरोको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । विपत् व्यवस्थापनविद् डा. सुवोध ढकालले पनि यो वर्ष बाढी पहिरोजस्ता घटना बढ्ने र सरकारले पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।