दमास्कसमा युएईको दूतावास पुनःस्थापित «

दमास्कसमा युएईको दूतावास पुनःस्थापित

सीमा खुलेसँगै हालैका सातामा जोर्डनसँगको व्यापार सुरु भएको छ । वर्षौंपछि बिहीबार दमास्कस–ट्युनिसिया व्यापारिक उडान भएको छ । सन् २०११ पछि पहिलो पटक चाम विङ्स एयरलाइन्सले सिरिया–ट्युनिसिया सीधा उडान गरेको हो ।

दमास्कस : युनाइटेड अरब इमिरेट्स (युएई) ले सिरियाको दमास्कसमा आफ्नो राजदूतावास पुनः खोलेको छ । युएईको उक्त कदमले सिरिया सरकारलाई अरब मुलुकको सामीप्यमा ल्याउने विश्वास गरिएको छ ।
सिरियाली सरकार परिवर्तन हुनुपर्ने भन्दै राष्ट्रव्यापी प्रदर्शन भएपछि युएईले सन् २०१२ को फेब्रुअरीमा सिरियासँगको सम्बन्ध विच्छेद गरेको थियो ।
झन्डै सात वर्षपछि दमास्कसमा आयोजित विशेष समारोहमा युएईको झन्डा राजदूतावासमा फहराइएको छ । उक्त कार्यक्रममा कूटनीतिक व्यक्तित्वहरू र पत्रकारहरूको बाक्लो उपस्थिति थियो ।
राजदूतावासले जारी गरेको विज्ञप्तिमा हाल कार्यवाहक राजदूतले काम थालिसकेको उल्लेख छ । दूतावासले दुवै देशबीचको सम्बन्धलाई पुनः सामान्य बनाउन युएई तत्पर रहेको जनाएको छ ।
युएईको राजदूतावास खुल्न लागेको खबर दमास्कसमा केही दिनअघिदेखि नै फैलिएको थियो । केही दिनअघिदेखि नै दूतावास भवनको मर्मत कार्य हुन थालेको देखिएको थियो ।
सुडानका राष्ट्रपति ओमार अल–बासिरले पनि यही महिनाको सुरुमा सिरियाको भ्रमण गरेका थिए । युएईले राजदूतावास पुनः खोलेलगत्तै बहराइनले पनि आफ्नो राजदूतावास पुनः खोल्ने संकेत दिएको छ । यो दूतावास पनि सन् २०१२ को मार्च महिनाबाट बन्द छ ।
सिरियालाई अरब लिगको सदस्यबाट सन् २०१२ मा निलम्बित गरिएको थियो । धेरैवटा खाडी मुलुक र उत्तर अफ्रिकी मुलुकहरूले सिरियाली सत्ता परिवर्तन हुनुपर्ने माग गरिआएका थिए ।
सिरियाली गृहयुद्धका कारण ३ लाख ६० हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।
सन् २००० देखि सत्तामा रहेका सिरियाली राष्ट्रपति असादको शासनसत्ता विद्रोहीको आक्रमण र जनताको तीव्र विरोधका कारण संकटमा परेको थियो । तर, रसियाले सन् २०१५ देखि सैनिक सहायता र फौज उपलब्ध गराएपश्चात् असादको शासन टिकेको छ, तर यसको ठूलो मूल्य सिरियाली जनताले चुकाउनु परेको छ ।
सिरियाली सेना र समर्थक लडाकूले सिरियाको अधिकांश भूभाग पुनः कब्जा गरेका छन् । उनीहरूले राजधानी दमास्कससहित मुलुकका अन्य मुख्य व्यापारिक मार्गहरूमा नियन्त्रण कायम गरेका छन् ।
पछिल्ला केही हप्तादेखि कूटनीतिक गतिविधि सिरिया र दमास्कसमा तीव्र रूपमा बढेका छन् । अर्को वर्षको मार्चमा ट्युनिसमा अरब लिगको बैठक हुन लागेकाले पनि कूटनीतिक चहलपहल बढेको हो ।
सीमा खुलेसँगै हालैका सातामा जोर्डनसँगको व्यापार सुरु भएको छ । वर्षौंपछि बिहीबार दमास्कस–ट्युनिसिया व्यापारिक उडान भएको छ । सन् २०११ पछि पहिलो पटक चाम विङ्स एयरलाइन्सले सिरिया–ट्युनिसिया सीधा उडान गरेको हो ।
“दुवै देशबीचको पर्यटक आवागमनलाई यो उडानले मद्दत गर्नेछ,” पर्यटन व्यवसायी मोताज तार्बिनले बताए । अरू अरब मुलुकले सिरियामाथि के कस्तो व्यवहार गर्छन् अहिल्यै भन्न नसकिने मोताजको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्