नेवानिको विमानमार्फत खोप

यसै साता चीन सरकारसँग खरिद गरेको कोरोनाविरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाने भएको छ । सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको खोप ल्याउनको लागि निगमले एयरबस–३३० विमान चीन पठाउन लागेको हो । निगमले ३ चरणमा खोप ल्याउने प्रस्ताव गरेको छ । यसको लागि निगमको पहिलो कार्गो उडान काठमाडौं–बेइजिङ असार यसै साताको बिहीबार (२४ असार)मा चीन प्रस्थान गर्ने उडान तालिका रहेको निगमले जनाएको छ ।
सो विमान २५ गते शुक्रबार खोप लिएर काठमाडौं अवतरण गर्नेछ । दोश्रो कार्गो उडान भने ३१ गते असार काठमाडौं–बेइजिङको लागि उडान भर्ने छ भने साउन १ मा विमान बेइजिङबाट काठमाडौंको लागि उडान भर्ने कार्यतालिका रहेको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् । तेश्रो खोप लिनको लागि विमान भने साउन ७ मा बेइजिङका लागि उडान भरेर ८ गते काठमाडौं अवतरण गर्ने उडान तालिका छ । काठमाडौं–वेइजिङ करिब ५ घण्टा ३० मिनेटको उडान हुनेछ ।
एक उडानमा ८ लाख डोज खोप ल्याउने गरी उडान तालिका बनाइएको निगमको भनाइ छ । “विगतको उडानमा निगमले कार्गो विमानबाट ८ लाख खोप ल्याएको थियो । सोही अनुसार योजना बनाइएको छ,” प्रवक्ता श्रेष्ठले भनिन्,,“प्याकिङको अवस्था हेरेर योजना बनाउँदा थप खोप अटाउन सक्ने अवस्था छ ।”