चार स्थानमा काठे पुलको भर «

चार स्थानमा काठे पुलको भर

बझाङ-बझाङका चारवटा स्थानीय तहमा अस्थायी काठे पुलको भरमा यातायात सेवा सञ्चालन भएका छन् ।
जिल्लाका थलारा, खप्तडछान्ना, मष्टा र तल्कोट गाउँपालिकाका विभिन्न गाउँमा सडक संजालले छोएको छ । सडक संजालले छोए पनि सेती नदीमा निमार्णाधीन पक्की पुल समयमै नबन्दा अस्थायी काठे पुलको भर पर्नुपरेको छ । आधाभन्दा बढी भूगोल र जनसंख्या भएको गाउँपालिकासँग सडक संजाल जोडन विभिन्न ठाउँमा पक्की पुल निर्माणकार्य सुरु भएको छ । तर पक्की पुल निर्माणको समय गुज्रिसक्दा पनि पुल भने बन्न सकेका छैनन् भने निमार्णाधीन पुल पनि समयमै बन्न नसक्दा यहाँका स्थानीय बासिन्दा काठे पुलको भरमा सेती नदी पार गर्नुपरेको छ । यसरी बनेका अस्थायी काठे पुलमा भने कात्तिकदेखि वैशाख मसान्तसम्म मात्र साना सवारीसाधन चल्ने गरेका छन् । जेठ महिनापछि नदीमा पानीको बहाब बढ्ने बित्तिकै पुल बगाएर लैजान्छ सवारीसाधन चल्न सक्दैनन् ।
सेतीपारि रहेका गाउँपालिकाभित्रका प्रायः सबै गाउँमा सडक संजाल पुगिसकेको छ । तर सेती नदीमाथि पक्कि पुल नबन्दा अस्थायी पुल निर्माणका लागि स्थानीय तह र अन्य विभिन्न निकायबाट बर्सेनि लाखांैको बजेट खर्च हुने गरेको छ । दुई वर्षअघि जिल्लामा पहिलो पटक काठको पुुल निर्माण गरेर गाडी सञ्चालन गरेको खप्तड छान्ना गाउँपालिकाले भने यस वर्ष अस्थायी पुलका लागि बजेट विनियोजन गरेको छैन । अस्थायी पुल निर्माणका लागि प्रत्येक वर्ष १४÷१५ लाख खर्च हुन थाल्यो । दुई वर्ष लगातार निर्माण गर्दा ४० लाखभन्दा बढी खर्च भइसकेको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्क रोकायाले बताए । उनले भने, बर्सेनि ठूलो रकम खर्च गरेर पनि उपलब्धि हँुदैन जसो तसो ५/६ महिना चल्छ बजेट खेरमात्र जाने भएकाले यसपालि विनियोजन गरिएन । गाउँपालिकाले बजेट विनियोजन नगरे पनि स्थानीय युवा सिद्धराज खड्काले व्यक्तिगत लगानीमा खप्तडछान्ना गाउँपालिका जोडन तमैलमा सेती नदीमाथि अस्थायी पुल बनाएका छन् ।
गत वर्षमात्र तल्कोट र खप्तड छान्ना गाउँपालिकाले २५ लाखभन्दा बढी खर्च गरेर अस्थायी पुल बनाएका थिए । दुवै पुल जेठको मध्यतिर सेती नदीमा आएको बाढीले बगाएको थियो । मष्टा गाउँपालिकाले पनि सडक संजाल गाउँसम्म जोडनका लागि सदरमुकामनजिकै काठको अस्थायी पुल बनाएको छ । डोजर भाडा र दक्ष कामदारको खर्च, सामग्री खरिदलगायत गरी लाखौंको रकममा अस्थायी पुल निर्माण गरिएको मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले बताए । उनले भने, “जनताका लागि काम गर्छु भनेको थिएँ । जनताले मलाई विश्वास गरेर जिताए पठाए । धेरै नभए पनि छ महिनासम्म यातायातको सुविधा पुगे गाउँको विकासमा केही राहत पुग्ने अपेक्षा लिएको छु ।”
एकातिर अस्थायी पुलमा बर्सेसन लाखौं रकम बगिरहेको छ भने अर्काेतिर ठेक्का भएर काम सुरु भइसकेका पक्की पुल समयमै निर्माण हुन सकिरहेका छैनन् । सेती नदीको पानकोट, तमैल र झनानामा तीनवटा मोटरपुल निर्माणको समयावधि सकिन लागेको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण कुनै पनि पुल समयमै सम्पन्न हुन सकेका छैनन् ।

खप्तडछान्ना गाउँपालिका जोडन तमैलनजिकै सेती नदीमा बनेकोे काठको अस्थायी पुल । तस्बिर ः कारोबार

प्रतिक्रिया दिनुहोस्