सरस्वती प्रधान मानव अधिकार आयोगमा «

सरस्वती प्रधान मानव अधिकार आयोगमा

जातीय भेदभाव तथा छुवाछूतको कसुर लागेकी सरस्वती प्रधानले आफूले छुवाछूत तथा विभेदकारी व्यवहार नगरे पनि षड्यन्त्रमूलक तरिकाले फसाइएको भन्दै रुपा सुनार लगायतलाई कारबाहीको माग गरे ।
बुधबार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिँदै सञ्चारकर्मी रुपा सुनारमाथि आफूले कुनै प्रकारको जातजातिसम्बन्धी विभेद एवम् छुवाछूतको व्यवहार नगरे पनि आफुमाथि षडयन्त्र गरी प्रहरीमा थुनाएको भन्दै रुपा सुनारलाई हदै सम्मको कारबाही गर्नुपर्ने माग गरी राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिए । उनले रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरे ।
असार १ गते सञ्चारकर्मी रुपा सुनारलाई दलित भएको कारण कोठा नदिएको भन्दै सुनारले प्रहरी वृत्तमा उजुरी दिएसँगै ३ दिन प्रधालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो । प्रधानले निषेधाज्ञाको समयमा पिसिआर रिपोर्ट बिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोमा आफ्नो स्वतन्त्रता विपरित भएकोले कारबाही गरिनुपर्ने बताए छ । उनले निवेदनमा भने, ‘नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको आदेश उल्लंघन गरी र बिना पिसिआर रिपोर्ट खुल्लेआम आवत–जावत गरी महामारी फैलाउने मानव विरोधी अपराध गरेको । रुपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भए पनि आपराधिक कार्य गर्नका लागि कोठा खोज्न आएको बाहानाबाजी बनाइ मेरो मञ्जुर बेगर मेरो फोन रकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरीमेरो विरुद्ध छुवाछुतको उजुरी दिई गैरकानुनी एवम् मेरो व्यक्तिगत जीवनको स्वतन्त्रता विपरीत हुनेगरी पूर्वाग्रहीपूर्वक थुनाएको ।’
यस्तै प्रधानले सञ्चारकर्मी सुनारले सञ्चारकर्मी प्रमाणपत्रको दुरुपयोग गरेको आरोप पनि लगाउनुभएको छ । घरधनी श्रीमान र सासू भएको भन्दै उनले आफूलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पारिन् । आफूलाई घरधनी भनि झुठा आरोप र जालसाजी गरी मानव अधिकार हनन् गरिएको उल्लेख गरिएको छ । सञ्चारकर्मीको प्रमाणपत्रको दुरुपयोग गरी निषेधाज्ञाको दिनमा खुलेआम हिँडेको तथा सुनार आफंैले जातको कुरा निकाली आफूलाई विवादमा ल्याएर मानवता विरोधी अपराध गरेको दाबी गरिएको छ । निवेदनमा उल्लेख छ – ‘घरधनी पति मुकुन्द प्रधान र सासूआमा भएकाले मलाई घर भाडामा राख्ने अधिकार नभए तापनि मलाई घरधनी भनी झुठा आरोप लगाइ जालसाजी गरी मेरो मानव अधिकारको हनन गरेको । मैले जातीय छुवाछूतको वादविवाद नै नगरेकोमा पनि नीज रुपा सुनार आफैंले म कामीको छोरी हो भनी आफैंले आफ्नो जात देखाइ मलाई विवाद गरी मानव विरोधीको अपराध गरेको ।’
सरस्वती प्रधानले सञ्चारकर्मी रुपा सुनारलाई जातीय आधारमा विभेद गरी कोठा नदिएको भन्दै प्रहरीमा जाहेरी रहेको छ । तीन दिन हिरासत बसेर प्रधान छुट्नुभएको हो । सुनारले पनि आफुमाथि विभेद भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्