मुलुकभर २७ प्रतिशत धान रोपाइँ «

मुलुकभर २७ प्रतिशत धान रोपाइँ

‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर मंगलबार १८औं राष्ट्रिय धान दिवस मनाइएको छ ।
सरकारले प्रत्येक वर्ष १५ असार राष्ट्रिय धान दिवस मनाउँदै आएको छ । यो वर्ष समयमै पानी परेकाले मुलुकभर २७ प्रतिशत हेक्टरमा धान रोपाइँ सकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । १५ लाख हेक्टर खेतीयोग्य जमिनमध्ये अहिलेसम्म ३ लाख ७१ हजार हेक्टरमा धान रोपाइँ भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयमा प्रदेश १ मा १८ प्रतिशत, २ नम्बर प्रदेशमा १० प्रतिशत, बागमती २१ प्रतिशत, गण्डकी प्रदेशमा प्रतिशमा १५ प्रतिशत लुम्बिनीमा ४६ प्रतिशत, कर्णाली प्रदेशमा ६२ प्रतिशत, सुदूरपश्चिमा ४८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । सबैभन्दा धेरै कर्णाली प्रदेश र कम २ नम्बर प्रदेशमा धान रोपाइँ भएको छ । मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले यो वर्ष धानको उत्पादन बढेर ६० लाख मेट्रिक टन पुग्ने प्रारम्भिक अनुमान गरिएको बताए । यो वर्ष समयमै वर्षात् भएको, रासायनिक मल र बीउको पर्याप्त उपलब्ध भएकाले पनि उत्पादन बढ्ने अनुमान गरिएको उनले जानकारी दिए ।
गत वर्ष ५६ लाख ७१ हजार मेट्रिक टन उत्पादन भएको थियो । कृषि तथा पशुपंक्षी विकासमन्त्री वसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताएका छन् ।
मंगलबार १८औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धानबाली भएकाले धान बालीको उत्पादन वृद्धि भएमात्रै देशमा समृद्धि हासिल हुने बताएका हुन् । मन्त्री नेम्वाङले नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको व्यापकता र आवश्यकतालाई ध्यान दिनु आवश्यक रहेको बताए । सरकार धानबालीको उत्पादकत्व बढाउने, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनका लागि स्पष्ट नीति बनाइरहेको उनले उल्लेख गरे ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले मौसमले साथ दिएको र रासायनिक मल पनि समयमा नै उपलब्ध भएकाले आगामी वर्ष धानको उत्पादन बढ्ने बताए ।
सरकारले रासायनिक मलको कारखाना खोल्ने कामलाई अगाडि बढाएको उनले बताए । कृषिको विकास तथा विस्तारका लागि स्थानीय तहले कार्यक्रमहरू केन्द्रित गर्नुपर्ने पनि उनले बताए । मुलुक धानमा आत्मनिर्भर उन्मुख रहेको सरकारले दाबी गरेको छ । थप ६ लाख मेट्रिक टन धान थप उत्पादन भए नेपाल धानमा आत्मनिर्भर हुने मन्त्रालयले जानकारी दिएको छ ।
०७६÷७७ मा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । सातवटै प्रदेशमध्ये प्रदेश १ र लुम्बनी प्रदेशमात्र धानमा आत्मनिर्भर देखिएको छ अन्य सबै प्रदेशमा धान अपुग रहेको तथ्यांकले देखाएको छ ।
विगत तीन दशककोे अवधिमा मुलुकमा धान उत्पादन ६० प्रतिशतले वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ । धानको उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्रविधि, प्रसार, यान्त्रिकरण, धान भण्डारण, बजार पूर्वाधार सुधार एवं न्यूनतम समर्थन मूल्यको कार्यान्वयन जस्ता कार्यक्रमले सहयोग गरेको मन्त्रालयको भनाइ छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामा ४८ अबै रुपैयाँ बराबरको चामल आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि वर्षेनी ठूलो परिणाममा चामल आयात हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्