Logo

‘मेक इन नेपाल–स्वदेशी’ अभियानका लागि परिसंघ र सरकारबीच समझदारी

नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालनका लागि नेपाल सरकार र परिसंघबीच समझदारी भएको छ ।


परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले अघि बढाएको यस अभियान कार्यान्वयनमा नेपाल सरकारले प्रतिवद्धतासमेत जनाएको छ ।


बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले नेपाललाई स्वावलम्बी, आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रको रूपमा विकास गर्न अभियान र समझदारी कोसेढुंगा सावित हुने बताए । “अब सरकार र नेपाल उद्योग परिसंघ आफ्ना जिम्मेवारी कुशलतापूर्वक बहन गरी अघि बढ्नुपर्छ,” उनले भने, “सरकारले नीतिगत र प्रक्रियागत सरलीकरण गरिरहेको छ, लगानीको वतावरण पनि तयार भइरहेको छ । अब उपलब्धि हासिल हुने गरी निजी क्षेत्रले काम गर्नुपर्छ ।”


परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाली वस्तुको उत्पादन र प्रवद्र्धनका लागि यस अभियानले महत्वपूर्ण योगदान दिने बताए । “नेपाललाई अहिले आफ्नै वस्तु उत्पादन र तिनीहरूको प्रवद्र्धन आवश्यक परेको छ,” उनले भने, “यो अभियानले त्यसलाई सहयोग पु¥याउने परिसंघको विश्वास छ ।” अध्यक्ष मोरले समझदारीपत्रमा उल्लेखित विषय कार्यान्वयन गर्न परिसंघ प्रतिवद्ध रहेको बताए ।


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले समझदारीपछि स्वदेशी अभियानका लक्ष्य हासिल गर्न अझ सहयोग पुग्ने बताए । उनले स्वदेशी वस्तुको उत्पादन तथा उपभोग प्रवद्र्धनमा यसले अझै टेवा दिने उल्लेख गरे ।
नेपाली वस्तु र सेवाको उत्पादन वृद्धि, सोको प्रवद्र्धन एवं उपभोग वृद्धि गरी विश्व बजारमा निर्यात गर्नका लागि यो अभियानको सुरुवात गरिएको परिसंघले जनाएको छ । २०७७ फागुन २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यो अभियानको सुरुवात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्