निशा घिमिरेको अवस्थामा सुधारः प्रतिक्रिया जनाउन थालिन् «

निशा घिमिरेको अवस्थामा सुधारः प्रतिक्रिया जनाउन थालिन्

नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ ।
दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको जेठ २७ गते उद्धार गरेकी थिइन् । हाल नर्भिकले उनलाई विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ ।

उद्धार गरेर ल्याएको भोलिपल्टदेखि नै उचित उपचार, आहारविहार र केयरिङ पाएका कारण कलाकार निशाको मुहारमा चमक देखिएको थियो । अस्थिपञ्जर मात्रै बाँकी रहेको जस्तो देखिने उनको शरीरका घाउहरू निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको छ ।

हाल नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापीलगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ ।
डा. पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।
अस्पतालमा आउँदा जिउँदो लाशजस्तो रहेकी उनी चलमलाउन थालेकी छिन् । बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रियासमेत दिन थालेकी छिन् । उनले पछिल्लो समय बोल्नेसमेत कोसिस गरिरहेकी छिन् ।

उपचारका संलग्न स्वास्थ्यकर्मीहरूका अनुसार भोक लाग्दा संकेत दिनेसम्मको भएकी छिन् । ‘उहाँ भोक लाग्यो भने कराएजस्तो गर्नुहुन्छ ।’ उपचार संलग्न चिकित्सहरू भन्छन्, ‘क्रमशः अवस्थामा सुधार भइरहेको छ ।’ उनले सोझै खाना खान भने सकेकी छैनन् । पाइपमार्फत खाना दिइने गरिएको छ ।

डा. जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् । उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताए । जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने संभावना भने न्यून छ । ‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ ।’ डा. जलानले भने,‘तर, आएको बेलाको तुलनामा घाउहरू निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिजहरू प्रशस्त दिइरहेका छौं । हिजोबाट ह्वीलचेयरमा समेत बसाउन सुरु गरेका छौं ।’

निशाको अवस्थालाई उनले ‘जनरल कण्डीसन इम्प्रूभ’ भएको अवस्थाको रुपमा बुझ्न सकिने बताए । तीन वर्षअघिसम्म मिडियाहरूमा छाउने गरेकी मोडल निशा घिमिरेको उद्धार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् ।

तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारत गएकी थिइन् । त्यहाँ भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

काठमाण्डौमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरूकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरूमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो ।
नियमित थेरापी गर्नसमेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् ।
यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरूसमेत प्रकाशन भएका थिए । तर, उनलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् । नर्भिकले उनको उद्धार गरेपछि उनलाई आर्थिक सहयोग गर्नेहरूको समेत लहर नै चलेको छ । उनको नाममा अक्षयकोष स्थापना गरी सहयोग रकम धमाधम जम्मा भइरहेको उनको उद्धारका लागि समन्वय गरेका समाजसेवी दुर्गानाथ दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्