Logo

रत्ननगरमा कर संकलन बढाउन छुट दिइने

चितवनको रत्ननगर नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब २६ करोड बराबरको बजेट प्रक्षेपण गरेको छ । नवौँ नगरसभामा नगरपालिकाले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

कोरोना खोप खरिददेखि विपन्नलाई अनुदानमा गाई वितरणलगायतका योजना समेटिएका छन् । मेयर नारायण वनले कोरोनाबाट नगरबासीलाई जोगाउँदै उद्यमशील बनाउने गरी बजेट तयार पारिएको बताए । बजेटमा गाई वितरणका लागि एक करोड, खोप खरिदका लागि ३० लाख बजेट प्रस्ताव गरिएको छ ।


उपमेयर विमला दुवाडीले एक अर्ब २६ करोड ९४ लाख बराबरको बजेट प्रस्तुत गरेकी थिइन् । आर्थिक विकासमा एक करोड ३२ लाख, सामाजिक विकासमा एक करोड ३२ लाख, पूर्वाधार विकासमा दुई करोड २० लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनमा ६१ लाख, सुशासन तथा संस्थागत विकासमा २६ लाख, समपुरकतर्फका योजना तथा कार्यक्रममा चार करोड ६ लाख बजेट छुट्याइएको छ ।

प्रशासनिक तथा चालू खर्च २३ करोड ५० लाख, वडागत चालू तथा पुँजीगत कार्यक्रममा १५ करोड २६ लाख र समपुरक कोषमा ३ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्ष ११ करोड रुपैयाँ आन्तरिक आम्दानीबाट संकलन गर्ने लक्ष्य लिइएको छ ।


कर संकलनलाई प्रभावकारी बनाउन कर छुटको नीति लिएको छ । पर्यटकीय नगरी सौराहामा सफारीका लागि प्रयोग हुँदै आएका हात्तीबाट लिइँदै आएको कर छुट दिइएको उपमेयर दुवाडीले जानकारी दिइन् ।

कात्तिक मसान्तसम्म सम्पत्ति कर बुझाएमा १० प्रतिशत छुट, आर्थिक वर्ष ०७७/७८ मा व्यावसायिक प्रयोजनका लागि १० प्रतिशत र आवासीय प्रयोजनका लागि सात प्रतिशत छुट दिने र बहालकर तीन प्रतिशत लाग्ने नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष ०७७/७८ को व्यावसायिक कर कात्तिक मसान्तसम्ममा बुझाएमा २० प्रतिशत र विगतको बक्यौता कात्तिक मसान्तसम्म बुझाएमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । त्यसैगरी अघिल्ला वर्षका बक्यौतामा एक वर्षसम्मको बक्यौतामा २० प्रतिशत एक वर्षभन्दा बढीकोमा ३० प्रतिशत जरिवाना तोकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्