काला पहाड बन्दैछन् हिमाल «

काला पहाड बन्दैछन् हिमाल

जलवायु परिवर्तनको असर

सिन्धुपाल्चोक – सम्मुख देखिने जुगल हिमशृङ्खलाका तल्लो तहसम्म सेताम्मे हिउँ भएको हिजै जस्तो लाग्छ जुगल गाउँपालिका–१ सेलाङस्थित खस्रे मैदानका अनिल शेर्पालाई । गर्मी याममा समेत जुगलका सबै चुचुरोमा बाक्लै हिउँ हुन्थ्यो । तर अहिले यो कथाजस्तै बनिसकेको छ । पहिले गर्मी याममा हुने गरेको स्थानसम्म अहिले चिसो याममा पनि हिउँ रेखा देखिँदैनन् ।
दशकयतादेखि पातलो हिउँको तह पग्लेर हिमालमा कालो पत्थर देखिन थालेका छन् । बढ्दो तापक्रमका कारण हिउँ पग्लेर हिमनदी बढेकाले हिमालहरू काला देखिन थालेका हुन् । समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाईमा बसोबास गर्ने शेर्पाका अनुसार दश वर्षअघि देखिने हिउँ भएको स्थानमा अहिले कालो पहाड मात्रै देखिन्छ । “पहिले जुगल हिमशृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो, पछिल्ला केही वर्षयता हिमालका तल्लो भाग पूरै काला पहाडजस्ता देखिन थाल्यो,” उनी भन्छन्, “त्यसैले चिसोको मात्रा पनि निकै फरक परेकोे महसुस हुन थालेको छ ।”
शेर्पाको गाउँ सदरमुकाम चौतारा हुँदै पाँचपोखरी पदमार्गमा पर्छ । यो मार्गमा उनको घर नै अन्तिम घर हो । हिमाली गाउँमा बसोबास गरिरहेका शेर्पाले अस्वाभाविक रुपमा तामक्रम बढ्ने भएका कारण हिउँ पग्लिने क्रम बढेको आफूलाई अनुभव भएको सुनाए । उनका अनुसार पछिल्लो समय जाडो समयमा समेत पर्याप्त हिउँ नपर्ने समस्या देखिएको छ ।
जलवायु परिवर्तनको असरका कारण हिमालीमा हिउँ क्रमशः हराउँदै गएको हो । सेलाङकै स्थानीय पासाङ तामाङले दश वर्षअघि र अहिलेमा हिमालको रङ निकै फरक रहेको अनुभव सुनाए । “वर्षैपिच्छे हिउँ घट्ने क्रम बढेको छ, पहिले त बाह्रैमास हिउँ हुन्थ्यो,” पाँच वर्षअघिसम्म लेकमा चौरी चराउन जाने गरेका पासाङले भने, “अचम्म लाग्ने गरी हिउँ घटेको छ, पहिला च्योच्यो डाँडामै चार-पाँच फिट हिउँ पथ्र्याे, अहिलेको चिसो याममा पानी परेपछि पनि त्यहाँ हिउँ देखिँदैन ।”
उनको अनुभवमा हिउँ पर्ने क्रम घट्दै गएपछि हिमाली खेतीबाली उत्पादनमा कमी आएको छ । “पहिले यार्सा टिप्न गाउँ सिंगै लेकतिर लाग्थे, अचेल यार्सा पनि पाइन छाडेको छ । हिउँ नपर्ने भएपछि यार्सा पनि नहुने रैछ जस्तो लाग्यो,” उनले अनुमान लगाए । हिउँ पर्याप्त नपर्ने र हिमालमा भएको हिउँसमेत पग्लिएर जाँदा हिमालमा हिउँले ढाकिएका भू–भाग काला पहाडमा परिणत हुन थालेको हो ।
त्रिभुवन विश्वविद्यालय वातावरण विभाग केन्द्रीय विभागका सहप्राध्यापक डा. सुदिप ठकुरीका अनुसार बढ्दो तापक्रमका कारण हिमाल काला देखिन थालेका हुन् । “जलवायु परिवर्तनको मापन गर्ने तापक्रम वृद्धि हो, पानी कम पर्ने हुँदा तापक्रम बढेकाले यो समस्या आएको हो,” उनी भन्छन्, “अध्ययनअनुसार प्रतिवर्ष सामान्यतया नौ मिलिमिटर पानी पर्ने परिमाण घटेको देखिन्छ भने प्रतिवर्ष शून्य दशमलव शून्य चार डिग्री सेल्सियस तापक्रम बढेको छ ।”
उनले देशैभरका हिमालमा गरिएको अध्ययनअनुसार पछिल्लो ५० वर्षमा हिमनदी १५ प्रतिशत क्षेत्रफलले घटेको छ भने हिमताल बढ्दो अवस्थामा छ । हिउँ पर्ने र जमेर बस्ने हुँदा हिमतालको संख्या बढेको हो । चिसो हुने ठाउँमा पनि तापक्रम बढेकाले यस्तो भएको उनी बताउँछन् । डा. ठकुरीका अनुसार नेपालमा सन् १९८० मा एक हजार एक सय वटा हिमताल थिए । त्यो संख्या बढेर २०१७ मा एक हजार पाँच सय ४१ पुगेको थियो । उनले सिन्धुपाल्चोक जलवायु परिवर्तनले असर गर्ने मध्यम जिल्लामा पर्ने बताए ।
सिन्धुपाल्चोकमा जलवायु परिवर्तनले हिउँ, चरिचरण क्षेत्र, कृषि, पानीमा असर गर्ने उनको भनाइ छ । “सिन्धुपाल्चोकमा रहेका ७५ मध्ये २४ वटा हिमताल छन्,” उनी भन्छन्, “२०१७ मा गरिएको अध्ययनअनुसार जिल्लाको तापक्रम वृद्धि प्रतिवर्ष शून्य दशमलव शून्य तीन डिग्री सेल्सियसले बढ्दो छ ।” जलवायु परिवर्तनकै कारण जिल्लामा पहिरोको संख्या बढ्न सक्ने देखिएको उनले बताए ।
विज्ञहरूको टोलीले १९६० देखि २०१३ सम्मको हिमाली अवस्था अध्ययन गरेको थियो । अध्ययनअनुसार हिमरेखा घटेको पाइएको हो । पहिला पाँच हजार चार सय मिटरसम्म बाक्लै हिउँ हुन्थ्यो भने अहिले पाँच हजार छ सय मिटरमा सामान्य हिउँ देखिन्छ । यो तथ्यांकले कम्तीमा दुई सय मिटर हिमरेखा घटेको छ ।
जलवायु परिवर्तनका कारण हिउँ पग्लने क्रम बढ्दै जाने हो भने नेपालका हिमालमाथि निकै ठूलो संकट आउन सक्ने विज्ञहरूको भनाइ छ । जलवायु परिवर्तन वातावरणीय मुद्दा हो । लामो समयमा हुने मौसम परिवर्तनको औसत अवस्थालाई जलवायु परिवर्तन मानिने डा. ठकुरी बताउँछन् । जलवायु परिवर्तनले प्राकृतिक प्रकोपको खतरा बढाउने, हिमतालहरू फुट्न सक्ने, विभिन्न रोगको संक्रमण बढ्ने समस्या आउने गर्छ । नेपाल जलवायु परिवर्तनको असर पर्ने विश्वको ११ औं देशमा पर्छ ।

किशोर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्